२ आश्विन २०८१, बुधबार | September 18, 2024

पशु बलि दिएर छावालाई तालिम



भरतपुर, चैत ७ गते

हात्ती प्रजनन केन्द्रका माउते राकेश महतोले छावा (गोपालगञ्ज नामकरण)को टाउको र कानको जोर्नीमा खुट्टाले बिस्तारै धकेल्दै ‘बैठ’ (बस) भनेपछि सरक्कै बस्यो । अनि फेरि उहाँले त्यही जोर्नीमा खुट्टाले बिस्तारै धकेल्दै भुइँमा भएको लौरो आफूलाई दिन छावालाई निर्देशन दिनुभयो, “उपर दे (माथि दे) ।”  

माउतेको निर्देशन पाएको छावाले सुँढले उठाएर लौरो माथि दियो । फेरि माउते महतोलाई छावालाई सुताउन मन लागेपछि खुट्टाले जोर्नीमै धकेल्दै भन्नुभयो– सुत । छावाले लुरुक्कै कुरा मान्यो र सुत्यो । हात्तीलाई तालिम दिइएको यो दृश्य हात्ती प्रजनन केन्द्र पुग्ने जोकोहीले अचेल सहजै देख्न सक्छन् । प्रजनन केन्द्रका कर्मचारीले गोपालगञ्जजस्ता छावालाई सजिलै भनेको मान्ने बनाउन निकै मिहिनेत गर्ने गर्नुभएको छ । 

“माउबाट छुटाएर बिस्तारै छावालाई तालिम दिने गरिन्छ,” माउते महतोले भन्नुभयो, “उसलाई हिँड्न, बस्न, उठ्न, सामान दिन वा केही काम लगाउन बिस्तारै सिकाउने गरिन्छ ।” 

हिमालीकलीबाट पहिलो बेतमा जन्मिएको गोपालगञ्ज अहिले साढे तीन वर्षको भयो । अहिले गोपालगञ्जले अन्य हात्तीसरहकै तालिम पाइरहेको छ । ऊसँगै अहिले प्रजनन केन्द्रमा शनिगञ्ज, खगेन्द्रगञ्ज, गोपालगञ्ज र सिमसारगञ्जलाई तालिम दिइएको छ । प्रजनन केन्द्रका प्रमुख मनिपुरन महतोले भन्नुभयो, “यी छावालाई पहिला त माउबाट छुटाएर दुईवटा हात्तीले बाँधेर बीचमा राखी हिँड्न, बस्न र उठ्न सिकायौँ ।” तीनदेखि चार वर्षका ती छावालाई झन्डै दुई महिनाको तालिमपछि मात्रै माउतेको इसारा बुझ्न सक्ने बनाउन सकिन्छ । यसरी तालिम दिँदा वनदेवी र खवारीको पूजा गर्ने र पशुपक्षी बलि दिने पनि प्रचलन तालिम केन्द्रमा छ । “तान्त्रिक विधिबाट देवीदेवताको पूजा गरी छावालाई खवारीको खाँबोमा तीन÷चार दिनसम्म  बाँधेर बस्न नदिई राखिन्छ,” प्रमुख महतोले भन्नुभयो, “यसरी पूजा गर्दा तालिमक्रममा विघ्नबाधा नआओस् भनेर बोका, कुखुरा, परेवालगायतका पशुपक्षी बलि दिने प्रचलन छ ।”

बलि दिएर खवारीमा डोरीले बाँधेर राखिएको छावालाई दाना, आहार र पानीसमेत नियमितभन्दा कम दिइन्छ । यसरी बाँध्दा उसले धेरै उपद्रो मच्याउन थाल्यो भने नजिकै आगो बालेर छावाको रिस शान्त पार्ने गरिन्छ । “आगोको लप्काले तर्साएर उसलाई नियन्त्रणमा राखिराख्छौँ,” उहाँले भन्नुभयो । 

हात्तीलाई तालिम दिने माउते र सुसारे अधिकांश थारू समुदायका भएका कारण पनि उसलाई तालिमक्रममा थारू भाषा नै बढी प्रयोग गरेर सिकाइन्छ । बैठ (बस), अगत (अगाडि बढ्), सुत्, इधर अगत (आफूतिर आइज) जस्ता भाषा प्रयोग गरेर नै हात्तीलाई तालिम दिइने गरिन्छ । यसरी तालिम लिएका हात्ती माउतेकै भाषा र हाउभाउ बुझेर काम गर्छन् ।  अजङ्गको जनावर हात्तीलाई मान्छेले वशमा लिएर प्रशिक्षण दिनु आफैँमा चुनौतीपूर्ण काम हो । यही चुनौतीपूर्ण काममा अभ्यस्त छन्, हात्ती प्रजनन केन्द्र खोरसोर सौराहाका हात्ती सुसारे र माउतेहरू पनि ।  

उनीहरूको प्राकृतिक ज्ञान र परम्परागत सीप नै अहिले हात्तीका छावाको तालिमका पाठ्यक्रम हुन्। २०४२ सालमा स्थापना भएको प्रजनन केन्द्रले ६२ वटा हात्ती जन्माइसकेको छ। प्रजनन केन्द्रमा छावाछावी जन्मँदा पनि खुसियालीमा वनदेवीलाई बोका बलि दिएर त्यसको प्रसादसमेत सबैले बाँडेर खाने प्रचलन छ। हात्ती प्रजनन केन्द्रले स्थापनाकालदेखि अहिलेसम्म ५१ वटा छावालाई तालिम दिइसकिएको छ। यो वर्ष मात्रै चारवटा छावालाई तालिम दिइएको प्रजनन केन्द्रले जनाएको छ। 

यसरी तालिम दिइएका हात्तीलाई दरबन्दी बनाएर निकुञ्ज सुरक्षाका लागि खटाइने व्यवस्था छ। निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा. विजय श्रेष्ठले भन्नुभयो, “निकुञ्जमा जहाँ जन्मिएका भए पनि छावालाई तालिम दिने भनेको नै प्रजनन केन्द्रमै ल्याएर हो।”

केन्द्रमा जन्मिएका छवटाको मृत्यु भएको छ भने अन्य पाँचवटा बच्चा अहिले हुर्कंदै छन्।  २०४४ सालमा रामप्यारीकलीबाट जन्मिएकी चितवनकली हात्ती प्रजनन केन्द्रकै पहिलो सन्तान हो।  बसन्त पराजुली, गोरखापत्र

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलबार  ५ : ३२ बजे