२ आश्विन २०८१, बुधबार | September 18, 2024

चीन र होन्डुरसबीच कूटनीतिक सम्बन्ध स्थापना



चैत्र-१२

चीन र मध्य अमेरिकी राष्ट्र होन्डुरसबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । ताइवानसँगको ८० वर्ष पुरानो कूटनीतिक सम्बन्ध विच्छेद गर्दै तेगुसिगल्पाले बेइजिङसँग आज औपचारिक रूपमा सम्बन्ध स्थापना गरेको हो ।    
    
कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्त विज्ञप्तिमा चीन र होन्डुरसका विदेशमन्त्रीले हस्ताक्षर गर्नुभएको छ । चीनले तेगुसिगल्पाको निर्णयलाई सही विकल्प भन्दै त्यसको स्वागत गरेको छ ।    
    
होन्डुरस र ताइवानले औपचारिक रूपमा एकआपसको सम्बन्ध विच्छेद भएको औपचारिक घोषणा गरेसँगै तेगुसिगल्पा र बेइजिङबीच कूटनीतिक सम्बन्ध कायम भएको हो ।विश्वका १४ सार्वभौम राष्ट्रसँग कूटनीतिक सम्बन्ध कायम गरेको ताइवानलाई अब भ्याटिकन सिटीलगायत १३ देशले मात्र मान्यता दिएका छन् ।    
    
यसैबीच, एशोसिएटेड प्रेसले दुई देशबीचको नयाँ सम्बन्ध बेइजिङ र संयुक्त राज्य अमेरिका बीचको बढ्दो तनावका बेला कायम भएको जनाउँदै स्वशासित ताइवानप्रति चीनको बढ्दो दृढता र ल्याटिन अमेरिकामा बढ्दो चिनियाँ प्रभावको सङ्केत गरेको बताएको छ ।    
    
होन्डुरसको विदेश मन्त्रालयले आफ्नो देशको सरकारले विश्वको एउटा मात्र चीनलाई मान्यता दिने र समग्र चीनको प्रतिनिधित्व बेइजिङले गरेको बताएको छ । ताइवान चिनियाँ क्षेत्रको अविभाज्य भाग भएको उल्लेख गर्दै मन्त्रालयले जारी गरेको विज्ञप्तिमा ताइवानसँग औपचारिक सम्बन्ध कायम नगर्ने वाचा गरेको छ । तेगुसिगल्पाल ताइपेइसँगको कूटनीतिक सम्बन्ध तोडिएको जानकारी दिइएको विज्ञप्तिमा जनाइएको छ ।    
    
ताइवानका विदेशमन्त्री जोसेफ वुले पनि आज ताइपेइमा आयोजित पत्रकार सम्मेलनमा आफ्नो मर्यादा र सार्वभौमसत्ता रषाका लागि होन्डुरससँगको सम्बन्ध तोडेको बताउनुभएको छ ।    

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  ६ : २७ बजे