३० भाद्र २०८१, आइतबार | September 16, 2024


सवारीसाधनको परीक्षण उपकरणबाट गरिने



चैत्र-१३

खरिद गरिएको झण्डै एक दशकपछि सवारीसाधनको जाँच गर्ने उपकरण सञ्चालनमा ल्याउने तयारी गरिएको छ । टेकुस्थित सवारी परीक्षण कार्यालयले उपकरणमार्फत सवारीसाधनको स्वस्थता जाँच गर्न तयारी अघि बढाएको हो । उपकरण मर्मत गरेर तयार भएपनि अहिलेसम्म कार्यविधि नभएकाले सञ्चालन शुरु हुन नसकेको सवारी परीक्षण केन्द्रले जनाएको छ ।    
    
सरकारी कार्यालयमा उपकरण सञ्चालनका लागि कार्यविधि आवश्यक पर्छ । सञ्चालनको मापदण्डबारे यातायात व्यवस्था विभागले छलफल चलाएको छ । उपकरण मर्मतपछि नियमित नचलाए पनि कहिलेकाहीँ सञ्चालन भइरहेको केन्द्रका प्रमुख मणिराम भुषालले बताउनुभयो । कानुन बनाएर बाध्यकारी नभएकाले भने नियमित गर्न नसकिएको हो ।    
    
उहाँले भन्नुभयो, “सवारी ऐनमा जाँच गर्ने भने पनि उपकरणबाट जाँच गर्न अनिवार्य गरिएको छैन ।” उपकरणको प्रयोग गरी जाँच गर्दा कति पुरानो गाडीलाई गर्ने भनी पहिले मापदण्ड बनाइने छ । नयाँ किन्नासाथ वा त्यसको केही वर्षसम्म त्यसको जाँच नगर्दा पनि हुनसक्छ । कस्तो गाडीमा अनिवार्य गर्ने भनी विज्ञले दिएको सुझावका आधारमा गरिनेछ । जाँच गर्ने भनी ऐनमा उल्लेख रहेकाले उपकरणमार्फत गर्ने भनी कार्यविधिमा समेट्न सकिने उहाँले जानकारी दिनुभयो ।    
    
    
उहाँले भन्नुभयो, “मापदण्ड आउनासाथ सुरु गर्न हामी तयारी अवस्थामा छौँ ।” केन्द्रमा रहेका हलुका र गहैँ (हेभी) गरी दुबै सवारीसाधनको जाँच गर्ने उपकरण मर्मत गरेर सञ्चालन गर्न सकिने अवस्थामा रहेको छ । विभागबाटै यो यो गाडीमा र यसरी गर्ने भनी यकिन गर्नुपर्ने छ । उहाँले भन्नुभयो, “सरकारले बाध्यकारी गरे मात्रै सेवाग्राहीले गर्न थाल्नुहुन्छ ।”    
    
अहिले सवारीसाधन सञ्चालनका लागि केन्द्रले जाँच गर्दै आएको छ । अहिलेसम्म ‘म्यानुअल’ रुपमा जाँच हुँदै आएकामा त्यसलाई उपकरणका माध्यमबाट जाँच गर्न लागिएको हो । सार्वजनिक सवारीसाधन छ–छ महिनामा जाँच गर्नुपर्छ । अहिले प्राविधिकले हेरेर परीक्षण गरिरहेका छन् । विदेशमा निजी सवारीसधनमा जाँच गर्नुपर्ने व्यवस्था भए पनि नेपालमा अहिलेसम्म अनिवार्य छैन । निजी सवारीसधनमा प्रदूषण जाँच मात्रै अनिवार्य गरिएको छ । केन्द्रमा अहिले प्रदूषण जाँच गर्न मासिक दुई हजार पाँच सयदेखि तीन हजारसम्म सवारीसधन आउछन् ।    
    
जाँच पासका लागि मासिक चार पाँच सय सवारीसाधन आइरहेको जनाइएको छ । जाँचपासका लागि आउने सवारीसाधन बढिरहेको छ ।    
    
उपकरणमार्फत जाँच सुरु गर्न सरकारले कानुनमा बाध्यकारी बनाउनुपर्ने र मापदण्ड पनि तोक्नुपर्ने केन्द्रले जनाएको छ । लामो समयसम्म थन्किएका उपकरण मर्मत भएको झण्डै सात महिना भएको छ । उहाँले भन्नुभयो, “यो बीचमा कतै समस्या छ छैन भनेर हेरिएको छ । साझालगायत कतिपय गाडीको जाँच गरिएको छ ।”    
     
सवारीसधनमा यतिसम्म हुँदा पास र यति हुँदा फेल भन्ने तय हुन बाँकी छ । यो गाडीको जाँच गर्दा यति आयो भन्ने थाहा भए पनि त्यति आउँदा पास हुन्छ वा फेल भन्ने थाहा नहुने बताइएको छ । उहाँले भन्नुभयो, “त्यो गाडीको अवस्थाअनुसार कति अङ्क आयो भन्ने प्रिन्टमा देखिन्छ ।”    

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  ८ : ५३ बजे