२ आश्विन २०८१, बुधबार | September 18, 2024

हुलाकी सडकको ईआईए सुरु



चितवन, चैत २० गते  । 

वातावरण प्रभाव मूल्याङ्कनमा त्रुटि भएको भन्दै रोकिएको चितवन राष्ट्रिय निकुञ्ज भएर जाने हुलाकी सडकको फेरि वातावरण प्रभाव मूल्याङ्कन गरिने भएको छ। 

निकुञ्ज भएर ठोरी, माडी हुँदै भरतपुर आउने हुलाकी सडक निर्माणका लागि यसअघि वातावरण प्रभाव मूल्याङ्कन (ईआईए) भएर काम अगाडि बढ्न लागेको अवस्थामा सर्वोच्च अदालतमा मुद्दा परेपछि रोकिएको थियो। सर्वोच्च अदालतले २०७५ फागुन १ गते ईआईए त्रुटिपूर्ण भएको भन्दै तत्काल निर्माणको काम नगर्न आदेश दिएको थियो। 

अदालतले गत असोज ४ गते हुलाकी सडक निर्माणका लागि पुनः ईआईए गर्न आदेश दिएपछि सडक निर्माणको बाटो खुलेको हो। हुलाकी राजमार्ग निर्देशनालय काठमाडौँको प्राविधिक र भूगर्भविद्को टोलीले सडक निर्माणका लागि प्रारम्भिक रूपमा अध्ययन गरेको छ। सडक विभागका इन्जिनियर प्रवीण थापा र भूगर्भविद् सुनील लम्साललगायतको ट्र्याक सर्भे टोलीले स्थलगत निरीक्षण गरेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो। 

टोलीले जगतपुरदेखि माडी जाने पुरानो सडक भएको खण्ड, ध्रुवघाटदेखि वनकट्टा र बगहीबाट कुसुम खोला, बाँदरझुला हुँदै ठोरी निकाल्ने गरी हुलाकी सडक निर्माणको ट्र्याक सर्भे गरेको छ। 

ध्रुवघाटबाट देउरालीसम्म तथा देउरालीबाट वनकट्टासम्म जङ्गली जनावर वारपार गर्न मिल्ने दुई स्थानमा अन्डरपास बनाउने गरी ट्र्याक सर्भे सुरु भएको बागमती प्रदेश सभा सदस्य ठाकुरप्रसाद ढकालले जानकारी दिनुभयो। भरतपुरबाट माडी हुँदै ठोरी जाने अहिले चलिराखेको बाटोलाई कायम राख्ने गरी ईआईए हुने वा नयाँ ट्र्याक खोल्ने विषयमा टोलीले गरेको सर्वेक्षणले नै तय गर्ने निकुञ्जका सूचना अधिकारी तिवारीले बताउनुभयो। गोरखापत्र अनलाईन

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  ५ : ४३ बजे