१ आश्विन २०८१, मंगलबार | September 18, 2024

तीन दलका शीर्ष नेता बसेर टुंग्याए बागमतीको मन्त्रालय भागबन्डा



जेठ -०५

बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकले बागमती प्रदेशमा दलहरूले लिने मन्त्रालयको भागबन्डा टुंगो लगाएको छ।

दलहरूबीच मन्त्रालय भागबन्डामा सहमति नहुँदा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद विस्तार गर्न सकेका थिएनन्।

मन्त्रिपरिषद विस्तार ढिलाइ भइरहेका बेला बालुवाटारमा प्रदेशका नेताहरूसहित बसेको सत्ता गठबन्धन दलका शीर्ष नेताहरूले मन्त्रालय भागबन्डामा सहमति गरेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र बागमतीका पूर्वमुख्यमन्त्री राजेन्द्र पाण्डेलगायतले बिहीबार छलफल गरेर बागमतीको मन्त्रालय भागबन्डा मिलाएका हुन्।

एकीकृत समाजवादीका बागमती प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनालले खालि रहेका ५ मन्त्रालयमध्ये कांग्रेसले ३ र एकीकृत समाजवादीले २ मन्त्रालय पाउने बालुवाटारमा सहमति भएको बताए।

बागमतीमा ६ मन्त्रालय पाउनुपर्ने अडान लिँदै आएको कांग्रेसले ५ मन्त्रालय मात्रै पाउने भएको छ। बालुवाटार बैठकले एकीकृत समाजवादीलाई दाबी गरेअनुसारकै २ मन्त्रालय दिएको छ। ‘हामीले दाबी गरेअनुसार नै २ वटा मन्त्रालय पाउने सहमति भयो,’ खनालले सेतोपाटीसँग भने।

कांग्रेस बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक रामकृष्ण चित्रकारले आफूहरूलाई ५ मन्त्री र १ राज्यमन्त्री दिने सहमति भएको बताए। ‘अहिले ५ मन्त्री र १ राज्यमन्त्री दिने सहमति भएको हो, बाँकी प्रदेशमै मिलाउनुस् भन्ने केन्द्रको निर्देशन छ,’ उनले भने।

११ सदस्यीय मन्त्रिपरिषदमा अहिले माओवादीबाट ४ र कांग्रेसबाट २ मन्त्री छन्। रिक्त ५ मन्त्रालयमध्ये कांग्रेसले ३ र एकीकृत समाजवादीले २ मन्त्रालय पाउने छ।

बागमतीमा राज्यमन्त्रीको संरचना छैन। राज्यमन्त्री थप गर्ने विषय प्रदेशमै छलफल गरी निर्णय गर्ने र एक/दुई दिनभित्र मन्त्रिपरिषद्लाई पूर्णता दिइने कांग्रेसका सचेतक चित्रकारले बताए।

मुख्यमन्त्री शालिकराम जम्कट्टेल र माअ‍ोवादी केन्द्र भने प्रदेशमा मन्त्रालयको संख्या नबढाउने पक्षमा छ।

‘भागबन्डा मिलाउनकै लागि मन्त्रालय थप्न हुँदैन, जति छ त्यसमै सहमति गरेर जानुपर्छ,’ माओवादी केन्द्रका प्रदेश सांसद सरल सहयात्रीले सेतोपाटीसँग भने।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले रिक्त ५ मध्ये ३ मन्त्रालयको कार्यभार यसअघि नै कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामालाई तोकिसकेका छन्।

लामाले सम्हालेको वन, उद्योग पर्यटन र स्वास्थ्य मन्त्रालयमा कांग्रेसले अब मन्त्री पठाउनेछ। मुख्यमन्त्रीले आफैँसँग राखेको यातायात र कृषि मन्त्रालय एकीकृत समाजवादीले पाउनेछ।

तर कुन मन्त्रालय कुन दलले पाउने भन्ने अझै छलफल गर्नुपर्ने एकीकृत समाजवादीका खनाल बताउँछन्। कांग्रेस र माओवादीले २ मन्त्रालय रोजेर लिएकाले एकीकृत समाजवादीले पनि कम्तिमा १ मन्त्रालय रोज्न पाउनुपर्ने बताएको छ।

‘मन्त्रालयबारे प्रदेशमै छलफल गरेर टुंगो लगाउँछौं, अहिले संख्या मात्रै टुंगिएको हो,’ खनालले भने।

प्रकाशित मिति : ५ जेष्ठ २०८०, शुक्रबार  १ : ४५ बजे