६ आश्विन २०८१, आइतबार | September 22, 2024

एमाले र पहिचानवादीबीच कोशी प्रदेशमा तनाव



जेठ-२८

कोशी प्रदेश नामकरण विवाद अहिले एमाले र पहिचानवादीबीच केन्द्रित भएजस्तै बन्दै गएको छ । नेकपा एमालेका नेता, सांसद तथा मन्त्रीप्रति अनुदार बन्दै पहिचान पक्षधरहरुले विभिन्न आक्रमण र विरोधका कार्यक्रम गरिरहेका छन् । त्यसपछि एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेठ २६ गते पहिचान पक्षधरलाई आतङ्ककारीको संज्ञा दिँदै रुखो टिप्पणी गरे ।

त्यसको विरुद्धमा सामाजिक सञ्जालमा पहिचान पक्षधरले एमाले र ओलीप्रति आक्रामक स्टाटस र उपमा पोस्ट गरिरहेका छन् ।

अध्यक्ष ओलीको आक्रामक अभिव्यक्ति आउनुमा आफूमाथि मात्रै नभएर एमालेका सांसद तथा नेता लक्षित पहिचान पक्षधरको आक्रमण नै मुख्य कारक हो । गत फागुन १७ गते प्रदेशको नाम कोशी नामकरण भएपछि पहिचानवादीले उक्त नामको पक्षमा हस्ताक्षर गर्ने ८२ जना प्रदेशसभा सदस्यलाई कुनै पनि कार्यक्रम नगर्न चेतावनी दिँदै बहिष्कार अभियान चलाइरहेका छन् ।

जसको कारण हालका मुख्यमन्त्री हिक्मतकुमार कार्की, उपसभामुख सिर्जना दनुवार, माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, एमाले संसदीय दलका उपनेता राम राना, सांसदहरु निरन राई, राप्रपा संसदीय दलका नेता तथा मन्त्री भक्ति प्रसाद सिटौलालगायतका नेताहरु पहिचानवादीको आक्रमणमा परिसकेका छन् । यस्तै सांसद पाँचकर्ण राई पनि आक्रमणमा परेका छन् ।

एमाले अध्यक्ष ओलीले जेठ २६ गते दिएको अभिव्यक्ति जेठ २५ मा इलाममा कोशी प्रदेश एमाले दलका उपनेता राम राना र उपसभामुख सिर्जना दनुवारलाई उदयपुरको गाईघाटमा आक्रमण भएपछि आएको हो ।

पहिचानवादीका माग मुद्दा सम्बोधन गर्नकै लागि भन्दै प्रदेश सरकारले जेठ २४ गते वार्ता समिति बनाएको थियो । वार्ता समिति बनाएको भोलिपल्टै पहिचानवादीको आक्रमणमा परेपछि भने एमाले आक्रामक बनेको हो ।

प्रकाशित मिति : २८ जेष्ठ २०८०, आइतबार  ६ : ०१ बजे