६ आश्विन २०८१, आइतबार | September 22, 2024

बागलुङमा बेवारिसे शव फेला



ढोरपाटन, १३ साउन
बागलुङमा सडेको अवस्थामा एक व्यक्तिकाे शव फेला परेको छ । जिल्लाको निसीखोला गाउँपालिका–६ पातीहाल्ने नजिकैको जङ्गलमा बेवारिसे शव फेला परेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजेश शर्मा अधिकारीले जानकारी दिनुभयो । शव कुहिएको अवस्थामा फेला परेको हुँदा पहिचान गर्न समस्या परेको उहाँको भनाइ छ ।

पातीहाल्ने जङ्गलमा पुगेका स्थानीयले शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै घटनास्थलमा पुगेको प्रहरी टोलीले शवलाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याएको थियो ।

“शव कङ्काल बनिसकेको छ, धेरै दिन अगाडि मृत्यु भएको हुनसक्छ, शरीर कुहिएको अवस्थामा हड्डी मात्रै बाँकी रहेको हुँदा को व्यक्ति हो ? पहिचान गर्न सकिएको छैन”, प्रहरी निरीक्षक शर्माले भन्नुभयो, “जिल्ला मातहतका प्रहरीचौकीमा खबर गरेका छौँ, छिमेकी जिल्ला रोल्पा र रुकुममा पनि जानकारी गराएका छौँ तर अहिलेसम्म कुनै मानिस हराएको निवेदन नपरेको छैन ।”

शर्माले कुनै व्यक्ति हराएको भए प्रहरीमा खबर गर्नसमेत आग्रह गर्नुभयो । मृतकले लगाएका कपडा सहजरुप चिन्न सकिने हुँदा त्यसबाट पनि पहिचान गर्न सकिने उहाँको भनाइ छ ।

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  १० : ०३ बजे