६ आश्विन २०८१, आइतबार | September 22, 2024

नेपाल टेलिकमले सुरू गर्‍यो एफटिटिएच इन्टरनेट सेवा



नेपाल टेलिकमले १ जिबिपिएस (१००० एमबिपिएस) सम्म उच्च गति भएको एफटिटिएच इन्टरनेट सेवा सुरू गरेको छ।

यस अघि कम्पनीले १०० एमबिपिएससम्म उच्च गति भएको एफटिटिएच सेवा उपलब्ध गराइरहेकोमा अब एकै पटक यति धेरै क्षमता भएको इन्टरनेट सेवा उपलब्ध गराएको हो।

हाल कम्पनीले जिपोन प्रविधिमार्फत उपलब्ध गराइरहेको एनटि फाइबर इन्टरनेटमध्ये सबैभन्दा उच्च गति १०० एमबिपिएस रहेकोमा अब एक्सजिपोन प्रविधिमा आधारित उच्च गतिको इन्टरनेट सेवा उपलब्ध हुने भएको हो।

सो सेवा ५०० एमबिपिएस र १ जिबिपिएस गरी दुई वटा प्याकेजमा उलपब्ध हुनेछ। यसको डाउनस्ट्रिम क्षमता १० जिबिपिएस र अपस्ट्रिम क्षमता २.५ जिबिपिएस हुने कम्पनीको भनाइ छ।

प्रिमियम एफटिटिएच ५०० एमबिपिएसअन्तर्गत नेपाल टेलिकमको नेटवर्कभित्र अनलिमिटेड कल गर्न सकिनेछ भने अन्य नेटवर्कमा प्रतिमहिना ३५० मिनेट कल गर्न सकिनेछ।

यो प्याकमा ०.५ टिबी डाटा प्रतिदिन प्रयोग गर्न सकिनेछ।

प्रिमियम एफटिटिएच १ जिबिपिएस अन्तर्गत नेपाल टेलिकमको नेटवर्कभित्र अनलिमिटेड कल गर्न सकिनेछ भने अन्य नेटवर्कमा प्रतिमहिना ५०० मिनेट कल गर्न सकिनेछ।

यो प्याकमा १ टिबी डाटा प्रतिदिन प्रयोग गर्न सकिनेछ।

दुवै प्याकेजमा एउटा आइपिटिभी, सिपिई र सेटटप बक्स तथा ३०० मिटर ड्रप फाइबर निःशुल्क उपलब्ध हुनेछ।

५०० एमबिपिएसको ‘प्रिमियम एफटीटीएच ५०० एमबीपीएस’ प्याकेज वार्षिक ८० हजार रुपैयाँ र १ जिबिपिएसको ‘प्रिमियम एफटिटिएच १ जिबिपिएस’ प्याकेज वार्षिक १ लाख १० हजार रुपैयाँमा उपलब्ध हुनेछ।

यो सेवा वा अन्य एफटीटीएच सेवा प्राप्त गर्न चाहने मुलुकभरका सेवाग्राहीहरूले १९८–१ (१९८ मा डायल गरी प्राप्त सन्देशपश्चात फेरि १ डायल गरी) मा डायल गरेर आफूलाई आवश्यक पर्ने सेवा जडान तथा मर्मतका लागि दर्ता गर्न सकिने व्यवस्था रहेको कम्पनीले जनाएको छ।

हाल काठमाडौं उपत्यकामा यो सेवा उपलब्ध गराइएको छ। व्यावसायिक संस्थाहरू यो सेवा प्रयोगबाट लाभान्वित हुने नेपाल टेलिकमले अपेक्षा गरेको छ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहिबार  ७ : ४१ बजे