२५ जेष्ठ २०८२, शनिबार | June 7, 2025

नवलपुरमा रेबिज विरुद्धको भ्याक्सिन अभाव



त्रिवेणी (नवलपरासी ) १९ भदौ (रासस) ः नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा रेबिज विरुद्धको भ्याक्सिन अभाव भएको छ । जिल्लास्थित मध्यविन्दु जिल्ला अस्पतालसहित भ्याक्सिन उपलब्ध हुने यहाँका सरकारी स्वास्थ्य संस्थामा उक्त भ्याक्सिनको अभाव भएको हो ।
जिल्ला अस्पतालमा भ्याक्सिन सकिएपछि अस्पतालले सार्वजनिक सूचना जारी गर्दै हाल उक्त रोगको उपचार गर्न नसक्ने जनाएको छ । अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीका अनुसार केन्द्रबाट भ्याक्सिन प्राप्त नभएकाले यहाँकोे सेवा रोखिएको छ । अस्पतालमा मासिक करिब तीन सय डोज रेबिज विरुद्धको भ्याक्सिन खपत हुँदै आएकामा भ्याक्सिन अभाव भएसँगै सेवाग्राहीहरु मर्कामा परेका छन् ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखामार्फत प्रदेश स्वास्थ्य आपूर्ति तथा व्यवस्थापन केन्द्रमा भ्याक्सिन आउने र त्यहाँबाट आफूहरूले ल्याउने गरेको उहाँले बताउनुभयो । हाल केन्द्रमै भ्याक्सिनको अभाव भएको भन्ने जानकारी आएकाले भ्याक्सिन अभावमा अस्पतालको सेवामा समेत असर परेको सूचना अधिकारी सुवेदीको भनाइ थियो ।

नवलपुरस्थित स्वास्थ्य कार्यालयको स्टोरमा समेत भ्याक्सिनको अभाव भएको छ । आवश्यक मात्रामा भ्याक्सिन नआउँदा अभाव हुन थालेको त्यहाँका स्रोत व्यक्ति डिल्लिराम तिवारीले बताउनुभयो । “हामीकहाँ यस्तै ८÷१० भायल होला, केन्द्रबाट भ्याक्सिन पर्याप्त नआउँदा अभाव भएको छ” उहाँले भन्नुभयो, “केही दिनभित्र भ्याक्सिनको व्यवस्थापन नभए भ्याक्सिन नभएको सूचना जारी गर्नुपर्ने अवस्था आउनेछ ।”
उक्त अस्पतालका साथै चोरमारा प्राथमिक स्वास्थ्य केन्द्र, दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्र, गैँडाकोट नगर अस्पताल र डेढगाउँस्थित रकुवा प्राथमिक स्वास्थ्य केन्द्रबाट पनि रेबिज विरुद्धको भ्याक्सिन लगाउने गरिएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलबार  २ : ३३ बजे