२९ कार्तिक २०८१, बिहिबार | November 14, 2024

न्वागी पर्वका अवसरमा चितवन सहित तीन जिल्लामा सार्वजनिक बिदा



हेटौँडा, २१ भदौ : बागमती प्रदेश सरकारले चेपाङहरूको राष्ट्रिय पर्व न्वागी (छोनाम)को अवसरमा सार्वजनिक बिदा दिने भएको छ । केही दिनअघि बसेको प्रदेश मन्त्रिपरिषद् बैठकको निर्णयानुसार प्रदेश सरकारले भोलि तीन जिल्लामा सार्वजनिक बिदा दिएको आन्तरिक मामिला तथा कानुनमन्त्री एवं प्रवक्ता गङ्गानारायण श्रेष्ठले जानकारी दिनुभयो ।

प्रदेशका मकवानपुर, चितवन र धादिङमा अति सीमान्तकृत चेपाङ जातिको बसोबास रहेको जनाउँदै चेपाङ समुदायको बसोबास भएका आधारमा तीन जिल्लामा भोलि (शुक्रबार) सार्वजनिक बिदा दिने निर्णय गरिएको उहाँले बताउनुभयो ।

प्रदेश सरकार सबै भाषा, धर्म, सम्प्रदाय, जातजातिको पहिचान र संस्कृतिको सम्मानमा जुटेको भन्दै कानुनमन्त्री श्रेष्ठले न्वागी पर्वका अवसरमा प्रदेशवासीमा आपसी भाइचारा र आत्मीयता बढोस् भन्दै शुभकामनासमेत व्यक्त गर्नुभएको छ ।

चेपाङ समुदायको बाहुल्यता रहेका जिल्ला क्रमशः धादिङ, मकवानपुर र चितवनमा उनीहरूले न्वागी पर्व आ–आफ्नो क्षमताअनुसार मनाउँदै आएको प्रदेशका भौतिक पूर्वाधार मन्त्रालयका पूर्वराज्यमन्त्री सन्तराम चेपाङले जानकारी दिनुभयो ।

 

 

 

 

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहिबार  ९ : १५ बजे