७ आश्विन २०८१, सोमबार | September 23, 2024

नयाँ पुस्तालाई इमान्दारिता र विकास चाहिएको छः अध्यक्ष तिमिल्सिना



असार-१३

राष्ट्रियसभाका अध्यक्ष गाणेशप्रसाद तिमिल्सिनाले नयाँ पुस्तालाई इमान्दारिता र विकास चाहिएको बताउनुभएको छ ।

पिताम्बर शर्मा पौडेलद्वारा लिखित ‘अनुभव र अनुभूति’ नामक पुस्तकको विमोचन समारोहमा आज यहाँ सम्बोधन गर्दै उहाँले अहिलेका पुस्तालाई भ्रष्टाचार नगरी विकास गर्ने र स्वदेशमै रोजगारी दिनसक्ने नेतृत्वको खाँचो रहेको बताउनुभएको हो ।

समाज परिवर्तनसँगै देशले गति लिन नसक्नुले अहिलेको पुस्ता निराश बन्दै गएको उहाँको भनाइ छ । देशको नेतृत्व गर्नेले भोगेको भोगाइ अहिलेको पुस्ताले खासै वास्ता नगर्ने भन्दै उहाँले भन्नुभयो “नयाँ पुस्ता देशको समृद्धि र न्यायपूर्ण समाजको खोजीमा छ तर परिवर्तनबाट जुन अनुभूति पाउनु पर्ने हो त्यो नहुँदा जनता विचलित हुने अवस्थामा आइपुगेका छन् ।”

राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै अहिलेको पुस्ताको आवश्यकता पुरा गर्नतर्फ राज्य लाग्नुपर्ने समय आएको उहाँको भनाइ छ । हाँले रुपान्तरणका लागि सबै लाग्नुपर्ने बताउनुभयो । जिम्मेवारीमा रहेका नेताको त्याग महत्वपूर्ण भए पनि त्यागअनुसारको आम नागरिकलाई अनुभूति दिलाउन नसक्दा जनतामा निराशा छाएको उहाँको भनाइ थियो ।

नेपाल शिक्षक सङ्गठनका संस्थापक केन्द्रीय सचिव पौडेलले शिक्षा क्षेत्रमा गर्नुभएको परिवर्तनअनुसार अहिलेको शिक्षालाई अघि बढाउन सक्नुपर्ने उहाँको भनाइ छ ।

समाज परिवर्तन र शिक्षा क्षेत्रको विकासका लागि पौडेल परिवारको महत्वपूर्ण भूमिका रहेको उहाँले बताउनुभयो । भरतपुर महानगरपालिका–१४ मा रहेको पिता-शिक्षा गुठीले आयोजना गरेको सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, डा सूर्यराज आचार्य, शिक्षाविद रमाकान्तर सापकोटा, प्राध्यापक केदारनाथ खनाल, एकनारायण पौडेल लगायतले पुस्तकको समीक्षा एवं टिप्पणी गर्नुभएको थियो ।

गुठीकी उपाध्यक्ष होमादेवी पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा श्रीराम देवकोटा, गुठीका सचिव लोकनाथ पौडेल लगायतले बोल्नुभएको थियो ।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार  ३ : ३८ बजे