७ आश्विन २०८१, सोमबार | September 23, 2024

पहिरोसँगै निरन्तर ढुङ्गा खसेपछि नारायणगढ मुग्लिन सडकखण्ड रातभर नखुल्ने



नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा आज दिउँसो खसेको पहिरोसँगै निरन्तर ढुङ्गा खसेपछि पन्छाउन सकिएको छैन । सुख्खा पहिरोसँगै ढुङ्गा खसिरहेकाले शुक्रबार बिहानदेखि पहिरो पन्छाइने भएकाले रातभरि सडक अवरुद्ध हुने भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार ढुङ्गा खसिरहेकाले बिहान ३ बजेदेखि मात्र पहिरो पन्छाउने काम सुरु गरिने भएको छ । पहिरो पन्छाउने क्रममा प्रहरी वरिष्ठ हवल्दार जयराम शाह घाइते हुनुभएको छ ।

प्रहरीचौकी सोमेश्वर माडी दरबन्दी भई हाल इलाका प्रहरी कार्यालय मुग्लिनमा कार्यरत शाहलाई माथिबाट खसेको ढुङ्गा खसेर लाग्दा शाह घाइते हुनुभएको हो । घाइते शाहलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

दिउँसो १३ः२० बजेदेखि सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएसँगै यस सडकखण्ड हुँदै चल्ने सवारीसाधन अलपत्र परेका छन् ।

प्रकाशित मिति : १४ असार २०८०, बिहिबार  ९ : ४४ बजे