१ आश्विन २०८१, मंगलबार | September 17, 2024

भरतपुरमा मनाइयो राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव



चितवन, १५ असार (रासस) :
भरतपुर महानगरपालिकाले राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव २०८० मनाएको छ । महानगरको कृषि तथा पशुपक्षी महाशाखाको आयोजनामा भरतपुर महानगरपालिका–९ स्थित त्रिपुरेश्वर कृषि सहकारीको जग्गामा धान रोपाइँ महोत्सव गरिएको हो ।

सो अवसरमा महानगर प्रमुख रेनु दाहालले उपकरणबाट धान रोप्नुभएको थियो । त्यसअघि प्रमुख दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले धानलाई पूजाआजा गरेर विधिवत्रुपमा रोपाइँको सुरुआत गर्नुभएको थियो ।

भरतपुर भ्रमण वर्ष सन् २०२४ को प्रचारात्मक अभियानसँगै धान दिवस मनाइएको हो । सोही अवसरमा जनप्रतिनिधि र स्थानीय युवाको हिले दौडसमेत गरिएको छ । रोपाइँ कार्यक्रममा महानगरपालिकाभित्रका विभिन्न विद्यालयका विद्यार्थी तथा पर्यटन क्षेत्रमा काम गर्ने सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता थियो ।

धान रोपाइँ गर्नुअघि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महानगरप्रमुख दाहालले कृषि क्षेत्रको विकासका लागि आफू प्रमुख भएदेखि काम गरिरहेको बताउनुभयो । सिँचाइ नपुगेका ठाउँमा सिञ्चित गर्ने, कृषि उपकरण अनुदानमा वितरण गर्ने, दूध, मल र बीउमा अनुदान दिनेलगायत काम भएको उहाँको भनाइ छ । दाहालले भन्नुभयो, “कृषि क्षेत्रमा उत्पादन बढाउनका लागि भरतपुर महानगपालिकाले कृषकलाई बीउ, उपकरणलगायत सामग्रीमा सहयोग गरिरहेको छ ।” कृषि क्षेत्रको विकासका लागि थप योजना गरिने उहाँले बताउनुभयो ।

उपप्रमुख अधिकारीले भरतपुरको सहरी क्षेत्रबाहेकका ग्रामीण क्षेत्रभित्र पहिले सिँचाइको अभावमा कृषिजन्य उत्पादन सन्तोषजनक नहुने गरेको भन्दै अहिले सुख्खा टाँडी हराभरा बनेको बताउनुभयो । उहाँले भन्नुभयो, “अबको केही वर्षभित्रमै हिउँदमा सबैतिर सिँचाइ पु¥याउने गरी महानगरले काम गरिरहेको छ ।”

कार्यक्रममा वडा नं ९ का वडाध्यक्ष यमलाल कँडेल, वडा नं ८ का वडाध्यक्ष जीवनाथ कँडेललगायतको सहभागिता थियो । कार्यक्रममा सन् २०२४ लाई ‘भ्रमण वर्ष’का रुपमा मनाउन प्रचारात्मक अभियानमा लाग्ने जोड दिइएको थियो ।

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार  ५ : ३९ बजे