६ आश्विन २०८१, आइतबार | September 22, 2024

बिना सेटिङ सुन तस्करी सम्भव छैन: रवि लामिछाने



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बिना सेटिङ त्रिभुवन विमानस्थलबाट सुन तस्करी हुनै नसक्ने दाबी गरेका छन्। सेटिङ नभई यति ठूलो परिमाणको सुन तस्करी हुन सम्भव नरहेको उनको भनाइ छ।

विराटनगरमा आइतबार पत्रकारहरुसँग कुरा गर्दै रास्वपा सभापति लामिछानेले भने, ‘बिना सेटिङ, मिलेमतो नभई सुन तस्करी सम्भव नै छैन।’ तर उनले कुन लेबलको, कुन ढंगको तस्करी हो भन्ने विषयमा भने अनुसन्धान गर्नुपर्ने बताए।

सुन बरामद प्रकरणमा अनुसन्धान भइरहेकाले यस विषयमा थप टिप्पणी गर्न जरुरी नभएको उनको भनाइ छ। ‘तस्करीका विषयमा अनुसन्धान जारी छ। एमालेले गृहमन्त्रीको राजीनामा माग्यो भन्दैमा हामीले पनि त्यसै गर्नुपर्छ भन्ने छैन। अनुसन्धान नहुँदै राजीनामा माग्नु उचित होइन्,’ लामिछानेले भने।

अनुसन्धान नसकिँदासम्म रास्वपाले धैर्य गर्ने र वास्तविकता थाहा पाएपछि मात्र आवाज उठाउने उनले बताए। वास्तविकता बाहिर आइसकेपछि चित्त बुझेन भने सडक र सदन दुवै थलोमा कुरा राख्ने लामिछानेले प्रष्ट पारे।

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार  ११ : ०५ बजे