४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

दक्षिण कोरियामा छुरा प्रहारबाट १४ जना घाइते



सियोल, १८ साउन
दक्षिण कोरियाको राजधानी सियोलबाट करिब २० किलोमिटर दक्षिणमा पर्ने सियोङनाम सहरमा बिहीबार भएको छुरा प्रहारमा परी १४ जना घाइते भएको पुष्टि भएको दक्षिण कोरियाली समाचार संस्था योनहापले जनाएको छ ।

सियोङनामको एक डिपार्टमेन्ट स्टोरको पहिलो र दोस्रो तल्लामा स्थानीय समयअनुसार साँझ ५ः५९ बजे २३ वर्षीय एक व्यक्तिले ५० सेन्टिमिटरभन्दा लामो घातक हतियारले आक्रमण गर्दा ती व्यक्ति घाइते भएका हुन् ।

डिपार्टमेन्ट स्टोरभित्र कालो हुडी, टोपी र चश्मा लगाएका शङ्कास्पद व्यक्तिले आक्रमण गर्दा नौ जना घाइते भएका थिए ।

छुरा प्रहार गर्नुअघि ती व्यक्तिले डिपार्टमेन्ट स्टोर अगाडिको फुटपाथमा एउटा हलुका कार चलाएर फुटपाथमा रहेका पाँच जना पैदलयात्रीलाई ठक्कर दिई घाइते बनाएका थिए ।

योन्हापले स्थानीय अधिकारीलाई उद्धृत गरी भनेको छ, “घाइतेमध्ये १२ जना गम्भीर घाइते भएका छन् । ६० वर्षीया एक महिलाको अवस्था गम्भीर छ ।”

प्रहरीले स्थानीय समयअनुसार साँझ ६ः०५ बजे घटनास्थल नजिकैबाट संदिग्ध व्यक्तिलाई पक्राउ गरेको थियो र घटनाको सही उद्देश्य र परिस्थितिको अनुसन्धान थालेको छ ।

रासस/सिन्ह्वा/योन्हाप

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहिबार  ९ : ५९ बजे