१ आश्विन २०८१, मंगलबार | September 17, 2024

चितवनको फोर्ब्स कलेजमा सिस्को नेटवर्किङ एकेडेमी र ईसी काउन्सिल एकेडेमिया



चितवन, साउन-२२

भरतपुर–२ स्थित फोर्ब्स कलेजले काठमाडौं उपत्यका बाहिर पहिलो पटक सिआईएससिओ नेटवर्किङ एकेडेमी र ईसी–काउन्सिल एकेडेमिया स्थापना गरेको छ । बिएचएम तथा व्याचलर अफ कम्प्युटर साइन्स (नेटवर्क टेक्नोलोजी एण्ड साइबर सेक्युरिटी) कार्यक्रम सञ्चाल गरिरहेको कलेजले विश्वविद्यालयको कोर्ष बाहेक पनि प्रोफेसनल सर्टिफिकेशन कोर्षको व्यवस्था गरेको हो ।

कलेजमा अध्ययनरत ४० भन्दा बढी विद्यार्थीले सिस्को नेटवर्किङ एकेडेमिबाट सिसिएनए सर्टिफिकेशन प्राप्त गरिसकेको कलेजका प्रिन्सिपल हरि पाठकले बताए । त्यस्तै, ईसी काउन्सिल एकेडेमियाबाट ३० भन्दा बढी विद्यार्थीले सिईएच सर्टिफिकेशन पाएको उनले बताए । यसले गर्दा विद्यार्थीले स्नातक तह अध्ययन गरेपछि कम्प्युटर नेटवर्क तथा साइबर सेक्युरिटी क्षेत्रमा सजिलैसँग काम पाउन सक्ने उनी बताउँछन् ।

सिस्को नेटवर्किङ एकेडमीले विश्वभरका १६५ राष्ट्रहरुमा ४० लाख विद्यार्थीहरुलाई सूचना प्रविधि र नेटवर्किङ विषयमा जानकारी प्रदान गरिरहेको छ ।

सिस्कोसँगको सहकार्यले विद्यार्थीलाई सूचना प्रविधि क्षेत्रमा करिअर बनाउन सहयोग गर्ने फोर्ब्स कलेजले बताएको छ । यो एउटा विश्वव्यापी शैक्षिक कार्यक्रम हो जसमा नेटवर्क सेक्युरिटी तथा प्रशासन, प्राविधिक सहयोग, हेल्थकेयर आइटी प्रोफेशनल सर्टिफिकेट, इन्जिनियरिङमा उच्च शिक्षा, कम्प्युटर साइन्स तथा अन्य क्षेत्रगत विषयहरु रहेको समेत कलेज बताएको छ ।

फोर्ब्स कलेजमा स्थापना भएको यी दुबै एकेडेमीबाट फोर्ब्स कलेज बाहिरका विद्यार्थीहरूले पनि सुविधा प्राप्त गर्न सक्नेछन् । फोर्ब्स कलेजमा अध्ययनरत विद्यार्थीहरूका लागि भने कलेजले विशेष छुटका साथ सर्टिफिकेसन गराइराखेको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  ४ : ०१ बजे