५ आश्विन २०८१, शनिबार | September 22, 2024

सरकारविरुद्धको अविश्वासको प्रस्ताव, आगामी निर्बाचनका लागि भगवानको आशीर्वाद: भारतीय प्रधानमन्त्री मोदी



नयाँदिल्ली, २५ साउन 
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विपक्षी दलमाथि कटाक्ष गर्दै विपक्षी दलले आफ्नो सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनु भगवानको आशीर्वाद भएको बताउनुभएको छ ।

उहाँले सन् २०२४ को लोकसभा चुनावमा विगतका सबै रेकर्ड तोडेर एनडीए र भाजपाले भव्य विजय हासिल गर्ने दावी गर्नुभयो ।

लोकसभामा अविश्वासको प्रस्तावमाथिको बहसको जवाफ दिँदै प्रधानमन्त्री मोदीले भन्नुभयो, “भारतीय जनताले हाम्रो सरकारमाथि पटक–पटक विश्वास देखाएका छन् । म यहाँ देशका करोडौं जनताप्रति कृतज्ञता व्यक्त गर्न आएको हुँ ।”

प्रधानमन्त्री मोदीले सन् २०१९ को लोकसभा चुनावअघि सन् २०१८ मा पनि विपक्षी दलले आफ्नो सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याएको स्मरण गर्नुभयो ।

“परमेश्वर धेरै दयालु हुनुहुन्छ र कुनै माध्यमद्वारा बोल्नुहुन्छ । विपक्षले सरकारविरूद्ध अविश्वासको प्रस्ताव ल्याएको छ । यो भगवानको आशीर्वाद हो भन्ने मलाई विश्वास छ ।”

उहाँले विपक्षी गठबन्धनलाई सङ्केत गर्दै भन्नुभयो, “मैले सन् २०१८ मा अविश्वासको प्रस्तावको बेला भनेको थिएँ कि यो हाम्रो लागि परीक्षा होइन तर उनीहरूका लागि परीक्षा हो ।
अविश्वासको प्रस्ताव फलस्वरूप उनीहरू चुनावमा पराजित हुनुपरेको थियो ।”

प्रधानमन्त्री मोदीले विपक्षी दललाई आफूले विश्वासको मत परीक्षण भएको र सन् २०१८ को अविश्वासको प्रस्तावमा जति मत प्राप्त भएको थियो, त्यो पनि जुटाउन नसकेको दावी गर्नुभएको छ ।

उहाँले भन्नुभयो, “एक किसिमले भन्ने हो भने विपक्षीको अविश्वास हाम्रो लागि सधैं भाग्यको बिषय बनेको छ । आज म देख्न सक्छु कि तपाईं (विपक्षी) ले निर्णय गर्नुभएको छ कि एनडीए र भाजपा विगतका सबै रेकर्डहरू तोड्दै, जनताको आशीर्वादका साथ २०२४ को चुनावमा ठूलो विजयका साथ फर्कनेछन् ।”

अविश्वासको प्रस्तावमाथि मङ्गलबारदेखि बहस सुरु भएको थियो ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहिबार  ८ : २९ बजे