६ आश्विन २०८१, आइतबार | September 22, 2024

भरतपुरको इन्द्रसरोवर तालमा डुङ्गा सञ्चालन



चितवन, २१ भदौ : भरतपुर महानगरपालिका–६ लक्ष्मीनारायण ओमकारेश्वर शिव मन्दिर इन्द्रपुरी परिसरमा रहेको इन्द्रसरोवर तालमा आजदेखि डुङ्गा सञ्चालनमा आएको छ । दुई वटा डुङ्गालाई विधिवत्रूपमा भरतपुर महानगर प्रमुख रेनु दाहालले शुभारम्भ गर्नुभएको हो ।

सो अवसरमा उहाँले यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने बताउनुभयो । भरतपुर भ्रमण वर्ष, २०२४ सम्ममा निर्माण भइरहेका काम सम्पन्न गरी पाहुनालाई घुमाउन र बसाउन उहाँको आग्रह थियो । भरतपुर महानगर क्षेत्र देशकै पर्यटकीय गन्तव्यमध्येको एक गन्तव्य भएको भन्दै उहाँले धार्मिक पर्यटक प्रवर्द्धनमा यो मन्दिर परिसर महत्त्वपूर्ण हुने बताउनुभयो । प्रमुख दाहालले चितवन राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी तथा दुई नदीमा बोटिङ, ¥याफ्टिङ गर्न सकिने भएकाले यहाँ पर्यटकको आकर्षण रहेको बताउनुभयो ।

महानगरमा आउने पर्यटकको बसाइ लम्ब्याउन इन्द्रसरोवर ताल उपयोगी हुने उहाँको भनाइ छ । भरतपुर भ्रमण वर्षमा यहाँको विकास देखाउनुपर्ने भन्दै उहाँले भन्नुभयो, “अहिलेको मुख्य काम हरियाली प्रवर्द्धन र सरसफाइ नै हो । सबैले आफ्नो गाउँलाई हरियाली र सफा राख्ने काम आजदेखि सुरु गर्नुपर्छ ।”

प्रमुख दाहालले हरियाली प्रवर्द्धनका लागि भरतपुर महानगरपालिकाले रु चार करोडभन्दा बढी बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।

सो अवसरमा वडाध्यक्ष कृष्णलाल श्रेष्ठ, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हरिकृष्ण सापकोटा लगायतले बोल्नुभएको थियो । वडा सदस्य रुद्र अधिकारीका अनुसार मन्दिर परिसरमा गुम्बा, विश्वकर्मा मन्दिर, भीमसेन मन्दिर रहेका छन् । लक्ष्मी मन्दिर बन्दै गरेको छ । सोही क्षेत्रमा एक हजार जना अट्ने सभाहलसहितको तीन तले आवासीय भवन छ । दुई बिघा क्षेत्रफलमा फैलिएको मन्दिर परिसरमा रहेको इन्द्रसरोबर ताल झण्डै एक बिघामा फैलिएको छ ।

 

 

 

 

 

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहिबार  ७ : ४३ बजे