२ आश्विन २०८१, बुधबार | September 18, 2024

उत्तर कोरियाली नेता किम ‘रूस प्रस्थान’ : योनहाप



उत्तर कोरियाली नेता किम जोङ उनको रेल रूसका लागि प्रस्थान गरेको दक्षिण कोरियाली समाचार संस्था योनहापले सोमबार एक अधिकारीलाई उद्धृत गर्दै उल्लेख गरेको छ ।

योनहापका अनुसार किमको रेल ‘छुटेको जस्तो’ देखिन्छ ।

कोरोना भाइरसको महामारी सुरु भएयता विरलै आफ्नो देश छोड्ने र यात्रा नगरेका किमले रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग हतियार सम्झौताबारे छलफल गर्ने अनुमान गरिएको छ ।

अमेरिकी र अन्य अधिकारीहरूले हालै द न्यूयोर्क टाइम्सलाई बताएअनुसार किम पुटिनलाई भेट्न रूसको प्रशान्त महासागरीय तटमा पर्ने भ्लादिभोस्तोक जाने सम्भावना छ ।

प्योङयाङको ऐतिहासिक सहयोगी रूस दशकौंदेखि प्योङयाङको महत्वपूर्ण समर्थक थियो र उनीहरूको सम्बन्ध ७५ वर्षअघि उत्तर कोरियाको स्थापनादेखि नै रहेको छ ।

उत्तर कोरियाली नेता किमले युक्रेनमा मस्कोको आक्रमणको समर्थन गर्दै आउनुभएको छ जसमा रकेट र क्षेप्यास्त्रआपूर्ति पनि समावेश छ ।

गत जुलाईमा पुटिनले ‘युक्रेनविरुद्ध विशेष सैन्य कारबाहीका लागि प्योङयाङको दृढ समर्थन’ को प्रशंसा गर्नुभएको थियो ।

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार  ४ : १४ बजे