५ आश्विन २०८१, शनिबार | September 21, 2024

पर्वतमा किसानका लागि पोषण सुरक्षा कार्यक्रम



पर्वत, ५ चैत

पर्वतमा किसानका लागि पोषण सुरक्षा कार्यक्रम सुरु भएको छ । किसानको आनीबानीमा सुधार गरी पोषणयुक्त खानाका साथै आयआर्जनसमेत गर्न सकुन भन्ने उद्देश्यले पर्वतस्थित कृषि ज्ञान केन्द्रले ‘ग्रामीण किसान पोषण सुरक्षा कार्यक्रम’ लागू गरेको हो ।

ग्रामीण क्षेत्रका किसानले पोषणयुक्त खानामा ध्यान नदिनुका साथै भात, ढिँडो, मकै, रोटीलगायत बढी खाने गरेकाले पोषणयुक्त खानाका लागि प्रेरित गर्न उक्त कार्यक्रम लागू गरिएको केन्द्रका प्रमुख मनिता थापाले बताउनुभयो । “अन्नबालीका साथै मासु, मह, अन्डा र ताजा तरकारी पनि उत्तिकै मात्रामा सेवन गर्नुपर्ने हुन्छ । तर पछिल्लो समय युवा विदेश पलायन हुन थालेका छन् भने कृषि पेसा गर्ने पनि निर्वाहमुखी बन्दै गएका छन्”, उहाँले भन्नुभयो ।

जमिन बाँझो राख्ने र खाद्यान्न बजारबाट किनेर खाने चलन बढेकाले पोषणयुक्त खानाको कमी हुँदा विभिन्न रोगको सङ्क्रमण बढ्ने भएपछि जिल्लास्थित कृषि ज्ञान केन्द्रले पिछडिएका बस्तीका किसानका लागि उक्त कार्यक्रममार्फत सहयोग थालिएको प्रमुख थापाको भनाइ छ ।

कार्यक्रमअन्तर्गत मोदी गाउँपालिका–४ हलहलेका किसानलाई माहुरीघार, कुखुराका चल्ला तथा विभिन्न तरकारीको बिउ वितरण गरिएको छ । उहाँका अनुसार हलहलेस्थित सिद्ध हलहले कृषि तथा पशुपक्षी किसान समूहमा आवद्ध किसानलाई मौरीका गोलासहितका ३० घार वितरण गरिएको छ भने कोइलर जातको चल्ला चार सय र मौसमी तथा बेमौसमी तरकारीको बिउ वितरण गरिएको छ ।

“रू पाँच लाख ५७ हजार भन्दा बढीको मौरी, कुखुरा र बिउ वितरण गरिएको छ । किसानले अर्गानिक खेती गरी उत्पादन वृद्धि गर्नाका साथै आयआर्जन समेत गर्न सक्नेछन्” प्रमुख थापाले भन्नुभयो । पौष्टिकयुक्त आहारले स्वास्थ्यमा समेत सुधार हुने भएकाले कुनैपनि बालबालिका वा किसान कुपोषण मृत्यु हुन नपरोस् भनेर कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाइ थियो ।

कृषि प्रसार अधिकृत विश्वास काफ्लेले ग्रामीण तथा पिछडिएका क्षेत्रका नागरिकलाई लक्षित गरी ग्रामीण पोषण सुधार कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । जिल्लाका अन्य पिछडिएका पालिकालाई समेत लक्षित गरी यस्ता कार्यक्रम सञ्चालन गरिने छ । रासस

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार  ११ : २४ बजे