३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

खेलौना ठानेर बम खेलाउँदा…



घाज्नी (अफगानिस्तान), २८ चैत 

देशको पूर्वी प्रान्त घाज्नीको नाहुर जिल्लास्थित बोर्जगी गाउँका केही बालबालिकाले खेलौनाजस्तो एउटा यन्त्र भेटेर त्यसैसँग खेल्दा दुई जना बालबालिकाको मृत्यु भएको छ ।

हिजो सोमबार दिउँसो बालबालिकाको एउटा समूहले गाउँमा खेलौनाजस्तो एउटा यन्त्र फेला पारेका थिए । केटाकेटी त्यसैसँग खेलिरहँदा त्यो यन्त्र अचानक विष्फोट हुँदा ती बालबालिकाले ज्यान गुमाएका राज्य सञ्चालित बख्तर समाचार समितिले आज जनाएको छ । दुवै बालबालिकाको घटनास्थलमा नै ज्यान गएको सुरक्षाकर्मीलाई उद्धृत गर्दै उक्त समाचार समितिले जनाएको छ ।

गत आइतबार घाज्नीको छिमेकी कान्दाहार प्रान्तमा यस्तै प्रकृतिको विष्फोट हुँदा एक जना बालकको मृत्यु भएको थियो भने अर्का एक जना घाइते भएका थिए । चार दशक लामो युद्ध र गृहयुद्धले तहसनहस भएको अफगानिस्तानमा विद्रोहीले बिछ्याएका बम विष्फोटमा परी प्रत्येक महिना दर्जनौँले ज्यान गुमाउँदै आएका छन् । बम विष्फोटका यस्ता घटनामा विशेष गरी बालबालिका पर्ने गरेका छन् ।

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  १२ : १८ बजे