३ मंसिर २०८१, सोमबार | November 19, 2024

विद्यार्थी नभएपछि विद्यालय समायोजन



बैशाख-१३

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले विद्यार्थी सङ्ख्या कम भएको विद्यालयको समायोजन गरेको छ ।    
    
वडा नं १८ स्थित मङ्गलादेवी आधारभूत विद्यालयमा विद्यार्थी सङ्ख्या एकजना पनि नभएपछि अर्को विद्यालयमा समायोजन गरिएको छ । यहाँ विगत वर्षदेखि नै विद्यार्थी न्यून रहेको गैँडाकोट–१८ का वडाध्यक्ष तिलबहादुर चितौरेले बताउनुभयो । “गाउँमा विद्यार्थी पाउनै छाड्यो यहाँ भौगोलिक अवस्थाका कारण विद्यालय सञ्चालन गर्न पनि कठिन छ”, उहाँले भन्नुभयो ।    
    
यहाँ बालविकास सहजकर्ता धनमाया डिस्वा र कार्यालय सहयोगी बमबहादुर रिलामी मगर कार्यरत रहनुभएको थियो । विद्यालयमा विद्यार्थी सङ्ख्या एकजना पनि नभएकाले विद्यालय सञ्चालन गर्न उपयुक्त नभएको नगरपालिकाले ठहर गरेको छ । विद्यार्थी नभएपछि विद्यालयलाई अर्को विद्यालयमा समायोजन गरिएको नगर शिक्षा समितिका अध्यक्षसमेत रहनुभएका नगर प्रमुख मदनभक्त अधिकारीले बताउनुभयो । “नगरपालिकाको नगर कार्यपालिकाको बैठकले उक्त विद्यालयलाई अर्को विद्यालयमा समायोजन एवं व्यवस्थापन गर्ने निर्णय गरेको हो”, नगर प्रमुख अधिकारीले भन्नुभयो ।    
    
    
नगर शिक्षा समितिको गत चैत २३ गते बसेको बैठकको निर्णय र सिफारिसका आधारमा समायोजनको निर्णय गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजालले बताउनुभयो । “विद्यालयलाई वीरेन्द्र आधारभूत विद्यालयमा समायोजन गर्ने, उक्त विद्यालयको भौतिक र अन्य सम्पत्ति वीरेन्द्र आधारभूत विद्यालयको प्रत्यक्ष नियन्त्रण र स्वामित्वमा रहने गरी व्यवस्थापन गरिएको छ”, उहाँले भन्नुभयो ।    
    
त्यस्तै उक्त विद्यालयमा कार्यरत बालविकास सहजकर्ता डिस्वालाई वीरेन्द्र आधारभूत विद्यालयमा र कार्यालय सहयोगी मगरलाई गैँडाकोट–३ मा रहेको मङ्गलादेवी आधारभूत विद्यालयमा खटाइएको छ । बसाइँसराइका कारण गाउँमा बस्ती पातलिएपछि विद्यालयमा विद्यार्थी नभएको नगरपालिकाका प्रवक्ता शिवकान्त तिवारीले बताउनुभयो ।    
    
“हाल विद्यालयमा विद्यार्थी नभएपछि कर्मचारीलाई अन्यत्र व्यवस्थापन गरिएको हो”, उहाँले भन्नुभयो, “पछि फेरि आवश्यकता भएमा पुनःसञ्चालन गर्नसक्ने गरी सम्बन्धन र भौतिक संरचना यथावत राखिने छ ।”    
–––  

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  १ : २० बजे