६ आश्विन २०८१, आइतबार | September 22, 2024

मोटर स्पोर्टसमा २१ जना प्रतिस्पर्धी



चितवन, २९ वैशाख   
नासा नेपाल बागमती सङ्घ तथा चितवन अटो डिलर्स एशोसिएशनको संयुक्त आयोजनामा हुन लागेको मोटरस्पोर्टसमा २१ जनाबीच प्रतिस्पर्धा हुने भएको छ । आज साँझबाट सुरु हुने प्रतियोगितामा सहभागिता जनाउनका लागि उनीहरुले आवेदन दिएका हुन् ।

कार्यक्रम संयोजक राजन पियाका अनुसार प्रतियोगितामा आज क्वालिफिकेसन राउण्ड हुनेछ । प्रतियोगितामा खेलकुद मध्येको एक शाहसिक एवं रोमान्चक खेल रहेको उहाँले बताउनुभयो । जिल्लामा पहिलो पटक आयोजना गर्न लागिएको सो प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा शनिबार हुने आयोजकले जनाएको छ ।

चितवनलाई शाहसिक र खेल पर्यटनको मुख्य गन्तव्य बनाउने उद्देश्यका साथ आयोजित यस प्रतियोगितामा सहभागीमध्ये १४ जना जिल्ला बाहिरका छन् । सहभागीमा दुई महिलासमेत रहेको पियाले जानकारी दिनुभयो । यस प्रतियोगितामा गाडी चलाएर खेल खेलिने छ । उहाँका अनुसार च्याम्पियनसिपका विजेता एक र महिलाबाट वेष्ट टाइमिङ्का आधारमा एक जनाले आगामी नोभेम्बरमा चाइनाको ताइपेइमा हुने एसिया प्यासिफिक अटो जिमखानामा सहभागिता जनाउन पाउने छन् ।

विजेतामध्ये पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश: रु २७ हजार, रु नौ हजार र रु तीन हजार, शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा एक हजार सीसीका सबै गाडीलाई खुल्ला गरिएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  १ : १० बजे