६ आश्विन २०८१, आइतबार | September 23, 2024

सन्जालले सडकसम्म ल्याइपुर्‍यायो भरतपुर घटना, नर्सहरूलाई ह्यारेस गर्न गिभिनाका प्रशंसक सक्रिय



चितवन

भरतपुर अस्पतालमा उपचाररत एक बिरामीलाई औषधि दिने समयबारे भएको विवाद सामाजिक सन्जालबाट सार्वजनिक भएपछि माइतीघर मण्डलासम्म आइपुगेको छ।

सामाजिक सन्जालमार्फत रकम उठाउँदै खर्च भएकालाई सघाउन सक्रिय गिभिना मगर र नर्सबीचको विवाद सन्जालबाट सार्वजनिक भएपछि अहिले नर्सहरू सडकसम्म आइपुगेका हुन्।

घटनापछि पेशाप्रति नै लक्षित गर्दै सामाजिक सन्जालमा गालीगलौज बढेको भन्दै उनीहरू विरोधमै उत्रिए। उनीहरू कार्यस्थलमा सुरक्षाको प्रत्याभूतिको माग गर्दै प्रदर्शनमै उत्रिए। उनीहरूले ‘व्यक्ति गलत होला तर नर्सिङ पेसा गलत छैन’ भन्दै धर्ना दिइरहेका छन्।

दुई घन्टाको विवादले निम्त्याएको घटना
गिभिना सामाजिक सन्जाल विशेषगरी टिकटकमा लोकप्रिय छिन्। उनले सामाजिक कामका लागि भनेर टिकटकबाटै रकम उठाउने अभियान समेत चलाउँछिन्। टिकटकमा उनका १४ लाख फलोअर्स छन्।

भरतपुर अस्पतालमा उनले एक क्यान्सर पीडितलाई उपचार गर्न लगेकी थिइन्। उनले अस्पतालमा रहेको बिरामीको भिडियो तथा तस्बिर सन्जालमा सार्वजनिक गर्दै सहयोग मागिरहेकी थिइन्।

त्यहीबीचमा दुई बजे दिनुपर्ने इन्जेक्सन चार बजे दिएर रेकर्डमा भने दुई बजे लेखेको भन्दै नर्ससँग झगडा भइरहेको भिडियो बाहिरियो।

अस्पतालमा उपचाररत बिरामीको भिडियो या तस्बिर अवस्था अनुसार परिचय लुकाउने वा खुलाउनेगरि सार्वजनिक गर्न अस्पताल प्रशासनको पूर्व अनुमति आवश्यक पर्छ।

गिभिनाले बिरामीको तस्बिर र भिडियो खिच्न अनुमति लिएकी थिइनन्। अन्तराष्ट्रिय मान्यता समेत उल्लंघन गरेको भन्दै उनले टिकटकमा राखेको भिडियो विरुद्ध रिपोर्ट भयो। १४ लाख फलोअर्स भएको उनको टिकटक अकाउन्ट ब्यान भयो।

उनका प्रशंसकहरूले सो प्रकरणमा संलग्नै नभएका नर्सहरूसमेत केन्द्रित गरेर गालीगलौज शुरू गरे। नर्सिङ एसोसियसन अफ नेपालले विज्ञप्ति नै निकालेर नर्सहरूविरुद्ध भएको दुर्व्यवहारको निन्दा गर्यो।

ड्यूटीको समयमा भएका बिरामी, कुरुवा र नर्सबीच भएको संवादलाई अनुमतिविना भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट गरिएको भन्दै दु:ख व्यक्त गर्यो।

घटना जिल्ला प्रहरी कार्यालय चितवनसम्म पुग्यो। दुवै पक्षबीच सहमति भइसक्यो। तर सन्जालमा भरतपुर घटनामा सरोकारै नभएका स्वास्थ्यकर्मी नर्स केन्द्रीत आक्रमण जारी देखिन्छ। उकेरा

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलबार  ७ : ३० बजे