६ आश्विन २०८१, आइतबार | September 23, 2024

चितवन राष्ट्रिय निकुञ्जमा भित्रिए हालसम्मकै धेरै पर्यटक



चितवन, जेठ-१०

चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो १० वर्ष यता सबैभन्दा धेरै पर्यटक यस चालु आर्थिक २०७९/०८० मा आएका छन्।

भूकम्प, नाकावन्दी, कोरोना भाइरसको महामारी पछि पहिलोपटक निकुञ्जमा ठूलो संख्यामा पर्यटकहरु आएको निकुञ्ज कार्यालयले जनाएको छ।निकुञ्जका अनुसार चालु आर्थिक वर्षको २ महिना (जेठ र असार) बाँकी छदै निकुञ्जमा बैशाखसम्म २ लाख ६३ हजार पर्यटकहरूले निकुञ्ज भ्रमण गरेका छन्।

निकुञ्जमा पछिल्लो १० वर्षमा यति ठूलो संख्यामा पर्यटक घुम्न आएका पहिलो पटक हो। चालु वर्षमा १ लाख ८७ हजार २ सय १७ नेपाली, सार्क देशका २७ हजार ८ सय ७४ र तेस्रो मुलुकका ४८ हजार ७ सय १५ पर्यटकले निकुञ्ज घुमेका छन्।नेपालीहरु सबैभन्दा धेरै कार्तिक महिनामा २९ हजार ६ सय १५ जना, सार्क देशका बैशाख महिनामा ५ हजार ७९ जना र तेस्रो देशका कार्तिक महिना मै ८ हजार ८ सय ८२ जनाले निकुञ्ज भ्रमण गरेका छन्।यसअघि गत आर्थिक वर्ष सबैभन्दा धेरै १ लाख ९० हजार पर्यटकले निकुञ्ज घुमेका थिए। पछिल्लो १० वर्षमा सबैभन्दा कम आ.व. २०७२/०७३ मा ८७ हजार ३ सय ९१ र कोरोना भाइरसको महामारी फैलिएको आ.व.२०७७/०७८ मा ९८ हजार २ सय २८ पर्यटकले निकुञ्ज घुमेका थिए।पछिल्लो वर्षहरुमा विदेशी भन्दा स्वदेशी पर्यटकहरुले निकुञ्ज घुमेको निकुन्लेजले जानकारी दिएको छ ।कोभिड पछि विदेशीको संख्या पनि क्रमशः बढ्दै गएको छ।

 

निकुञ्जमा पर्यटक बढेसँगै राजश्व संकलन पनि बढ्न थालेको छ। चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म २४ करोड ४९ लाख ४६ हजार ८६० रूपैयाँ राजश्व संकलन गरेको छ।बाँकी २ महिनामा संकलन हुने राजश्व संकलनको दर बझै बढ्ने देखिन्छ। निकुञ्जका अनुसार सबैभन्दा धेरै पर्यापर्यटनबाट १९ करोड ३९ लाख ३२ हजार २ सय ५० रुपैयाँ र गैरकाठ तथा वनपैदावार विक्रीबाट ४ करोड ७९ लाख ७१ हजार २ सय ६९ रुपैयाँ राजश्व संकलन भएको छ।गत वर्ष ११ करोड ४९ लाख ९७ हजार ४१३ रूपैयाँ राजश्व संकलन भएको थियो।पछिल्ला दस वर्षमा संकलन भएको राजश्वलाई हेर्दा सबैभन्दा बढी आर्थिक वर्ष २०७५/०७६ मा २९ करोड ४४ लाख ६६ हजार ६३९ रूपैयाँ संकलन भएको थियो।संकलित राजश्वको ५० प्रतिशत रकम निकुञ्जले मध्यवर्ती क्षेत्रमा उपलब्ध गराउँदै आएको छ।बन्यजन्तुले मानव तथा मानववस्ती र खेतीवालीमा पुर्‍याएको क्षतिको क्षतिपूर्ती रकमसमेत दिँदै आएको छ।

 

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार  ७ : ४५ बजे