६ आश्विन २०८१, आइतबार | September 22, 2024

बजेट तथा कार्यक्रममा सुदूरपश्चिम प्रदेश



सुदूरपश्चिम, १५ जेठ:
सरकारले संसद्समक्ष आज प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यक्रममा सुदूरपश्चिम प्रदेशका केही महत्वपूर्ण योजना समेटिएका छन् ।

अर्थमन्त्री डा प्रकाशशरण महतले प्रस्तुत गर्नुभएको बजेट कार्यक्रममा निकै चासोका साथ हेरिएको कैलालीको गेटा मेडिकल कलेजलाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रारुपमा सञ्चालन गर्ने विषय समेटिएको छ । उक्त कलेजका भौतिक संरचना निर्माणको काम लगभग पूरा भइसकेको छ । सरकारले यो कलेजलाई एक सय शय्या सञ्चालन गर्ने गरी बजेटको व्यवस्था गरेको जनाएको छ ।

यस्तै लामो समयदेखि चर्चामा रहेको पश्चिम सेती जलविद्युत् आयोजनाका साथै चैनपुर–सेती जलविद्युत् आयोजनाको निर्माण सुरु गरिने विषय पनि बजेट वक्तव्यमार्फत सार्वजनिक गरिएको छ ।

सुदूरपश्चिम प्रदेशका बजेटमा समेटिएका महत्वपूर्ण योजना तथा कार्यक्रमः
–गेटा मडिकल कलेजलाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा सञ्चालन गरिने ।
–कैलालीको लम्कीमा प्राथमिक ट्रमा केयर सेन्टर स्थापना ।
–धनगढीमा एकीकृत खानेपानी तथा ढल व्यवस्थापन कार्यक्रम सञ्चालन ।
–बैतडीको दशरथचन्द नगरपालिका र धनगढीको फाप्लामा क्रिकेट रङ्गशाला निर्माण ।
– मदनभण्डारी सडकको कैलाली खण्ड निर्माण तथा स्तरोन्नति, महाकाली करिडोर सडक निर्माण, खुटिया—दिपायल हुँदै जाने फास्ट ट्र्याक सडक निर्माण, दैजी–जोगबुढा हुँदै जाने सडक निर्माण, कैलालीको मोहनादेखि अत्तरियासम्म निर्माणाधीन सडकको बाँकी काम पूरा गरिने, बैतडीको पाटनमा सहरी विकास कार्यक्रम सञ्चालन, कैलालीमा निर्माणाधीन राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको थप काम निर्माण गर्न रु दुई अर्ब ६३ करोड बजेट विनियोजन, प्राथमिकता प्राप्त कञ्चनपुरको महाकाली सिँचाइ आयोजनाका लागि रु एक अर्ब १७ करोड बजेट विनियोजन, जडीबुटीको प्रवर्द्धन गर्न आवश्यक पहल, महाकाली, कर्णाली, मोहन र खुटिया नदी तथा पहिरो नियन्त्रण कार्यक्रम, पश्चिम सेती जलविद्युत् आयोजना निर्माण, चैनपुर सेती जल विद्युत् आयोजना निर्माण आदि छन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार  ९ : ३१ बजे