५ आश्विन २०८१, शनिबार | September 21, 2024

विद्यार्थीलाई डिजिटल शान्ति निर्माणबारे प्रशिक्षण



असार-०७

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाका विद्यार्थीलाई डिजिटल शान्ति निर्माणबारे प्रशिक्षण दिइएको छ । गैँडाकोटका आठ सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई इन्टरनेट चलाउँदा अपनाउनुपर्ने सावधानीबारे प्रशिक्षण दिइएको हो ।

विद्यार्थीहरूलाई इन्टरनेट जडान गरिएको मोबाइल, ल्यापटप, कम्प्युटर चलाउँदा अपनाउनुपर्ने सावधानीबारे विद्यार्थीलाई जानकारी दिइएको प्रशिक्षक एवं पत्रकार कृष्ण सापकोटाले बताउनुभयो ।

पछिल्लो समय इन्टरनेटको बढ्दो दुरुपयोगसँगै भएका विभिन्न खालका घटनाका बारेमा विद्यार्थीलाई सचेत पारिएको उहाँको भनाइ छ । प्रशिक्षणका क्रममा विद्यार्थीलाई भ्रामक तथा गलत सूचना, व्यक्तिगत गोपनीयता, घृणास्पद अभिव्यक्ति, अनलाइन बाल दुव्र्यवहार, साइबर बुलिङ, अनलाइन ठगीलगायतका विभिन्न विषयमा जानकारी गराइएको उहाँले बताउनुभयो ।

गभर्नेन्स इन्टरनेसनल नेपाल (जीआइएन)का प्रशिक्षक सञ्जीव घिमिरेले पछिल्लो समय सबै जना चाहेर वा नचाहेर डिजिटल वल्र्डको हिस्सा बनेको भन्दै इन्टरनेटको प्रयोगबारे सचेत हुनुपर्नेमा जोड दिनुभयो । “पछिल्लो समय अनलाइन व्यवसाय, अनलाइन बैंकिङ प्रणाली, सामाजिक सञ्जाल, ई–कमर्स, ई–पेमेन्टलगायतमा सबैको पहुँच बढ्दै गइरहेको छ”, उहाँले भन्नुभयो, “डिजिटल वल्र्डमा सबैलाई सहज भएको छ । तर यसको सहीरूपमा प्रयोग नभइ दुरुपयोग बढ्नाले मानिसहरू विभिन्न झमेलामा पर्ने गरेका छन् ।” इन्टरनेटको माध्यमबाट डिजिटल उपकरण चलाउँदा यसको सकारात्मक प्रयोग गर्नुपर्ने घिमिरेले बताउनुभयो ।

कक्षा ८ देखि १२ सम्म अध्ययनरत ६० विद्यार्थी र सात जना शिक्षकलाई डिजिटल शान्ति निर्माणबारे प्रशिक्षण दिइएको थियो । विद्यालयमा सामाजिक अध्ययन विषय अध्यापन गराउने शिक्षकहरू सहभागी रहनुभएको विजय सामुदायिक शिक्षा सदनका प्रधानाध्यापक रेखा श्रेष्ठले बताउनुभयो । इन्टरनेटको माध्यमबाट मानिसले लिनसक्ने फाइदा तथा यसबाट हुने बेफाइदाबारे विद्यार्थीलाई बुझाउन प्रशिक्षण महत्त्वपूर्ण भएको उहाँको भनाइ छ ।

किशोरावस्थामा प्रवेश गर्दै गरेका विद्यार्थीलाई साइबर सुरक्षा र इन्टरनेटको माध्यमबाट हुने विभिन्न क्रियाकलापका बारेमा बुझाउन प्रशिक्षण फलदायी भएको उहाँको भनाइ छ । मानिस जानी–नजानी विभिन्न प्रकारको हिंसाको सिकार भइरहेकाले यसबारे विद्यार्थी सचेत भएमा परिवार हुँदै समाज नै सचेत हुनसक्ने प्रधानाध्यापक श्रेष्ठले बताउनुभयो । विजय सामुदायिक शिक्षा सदन र विजय विकास स्रोत केन्द्रसँगको सहकार्यमा गभर्नेन्स इन्टरनेसनल नेपालको आयोेजनामा प्रशिक्षण आयोजना गरिएको हो ।

प्रकाशित मिति : ७ असार २०८०, बिहिबार  ८ : ०३ बजे