३ आश्विन २०८१, बिहिबार | September 19, 2024

चितवनको रत्ननगरमा नगरप्रमुख उद्यमशीलता प्रवर्द्धन कार्यक्रम



असार-०९

चितवनको रत्ननगर नगरपालिकामा नगरप्रमुख उद्यमशीलता प्रवर्द्धन कार्यक्रम शुभारम्भ भएको छ ।

उद्यमी बन्न चाहेका नगरवासीमध्येबाट पहिलो चरणमा छनोट गरिएका ३८ जनालाई नेपाल बैंकसँगको सहकार्यमा रु तीन लाखका दरले ‘चेक’ हस्तान्तरण गर्दै कार्यक्रमको थालिएकोे हो ।

सो अवसरमा नगरप्रमुख प्रलाद सापकोटाले आर्थिक अवस्था कमजोर भएकालाई पहिलो प्राथमिकता दिँदै उद्यमशीलता प्रवर्द्धन गर्न चेक हस्तान्तरण गरिएको बताउनुभयो । उहाँले उद्यमीले इमान्दारिताका साथ व्यवसाय सञ्चालन गरे थप लगानी गर्ने वातावरण मिलाउन आफू तयार रहेको जानकारी दिनुभयो ।

“हामी उद्यमीलाई राजनीतिक आँखाले हेर्दैनौँ, प्राथमिकताका आधारमा छनोट गर्छौं”, उहाँले भन्नुभयो, “एकल महिला, सीमान्तकृत, अल्पसङ्ख्यक र दलित महिलालाई पहिलो प्राथमिकता दिएका छौँ ।” कार्यक्रममा नेपाल बैंक लिमिटेड टाँडी शाखाका प्रमुख सरोज खनालले उद्यमशीलता कार्यक्रममा जोडिएका उद्यमीले उदाहरणीय काम गरेर देखाउनुपर्ने चुनौती रहेको बताउनुभयो । बैंकले नगरपालिकासँग समन्वय गरी आवश्यक छनोट प्रक्रिया पूरा गरेपछि तीन वर्षका लागि रु तीन लाख ऋण लगानी गर्ने र सो ऋणको ब्याज नगरपालिकाले बुझाउने सहमति गरिएको उहाँको भनाइ छ ।

उद्यमीले प्राप्त गरेको ऋणको हरेक तीन महिनामा रु २५ हजारका दरले किस्ता घटाउँदै तीन वर्षभित्र तिरिसक्नुपर्ने जनाइएको छ । रत्ननगर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बद्रिनारायण शर्माले उद्यमशीलताबिना विकास हुन नसक्ने जनाउँदै उद्यमीले राम्रो गर्न सकेमात्र नगरप्रमुख उद्यमशीलता प्रवर्द्धन कार्यक्रम थप विस्तार हुने बताउनुभयो ।

कार्यक्रममा उद्यमशीलता कार्यक्रममा छनोट भएका ३८ उद्यमीलाई नेपाल बैंक लिमिटेड टाँडी शाखाका कर्जा प्रमुख दीपेन्द्र अधिकारीले वित्तीय व्यवस्थापनबारे प्रशिक्षण दिनुभएको थियो ।

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  ११ : २९ बजे