३ आश्विन २०८१, बिहिबार | September 20, 2024

भरतपुर महानगरपालिका द्वारा ६ अर्ब ३१ करोड ७९ लाख बजेट सार्वजनिक



चितवन, असार-१०

भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८२का लागि चालू आर्थिक वर्षभन्दा १० करोड ७० लाख १७ हजार रुपैयाँ बजेट बढाएको छ। महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ६ अर्ब ३१ करोड ७९ लाख ९० हजारको बजेट सार्वजनिक गरेको छ। चालु आर्थिक वर्षका लागि पुरक समेत गरी  ६ अर्ब ३१ करोड १९ लाख ७४ हजार रुपैयाँको बजेट विनियोजन गरिएको थियो।

महानगरपालिकाले आन्तरिक आय, अन्तरसरकारी वित्तीय हस्तान्तरण, केन्द्र तथा प्रदेश सरकारको राजश्व बाँडफाँट जनसहभागिता लगायतका शीर्षकमा बजेट बढाएको छ।

यसपटक आन्तरिक आय ५० करोड रुपैयाँ वृद्धि गर्ने लक्ष्य महानगरपालिकाको छ। चालु आर्थिक बर्षमा महानगरपालिकाले १ अर्व २५ करोड आन्तरिक राजश्व उठाउने लक्ष्य राखेको थियो । तर, हालसम्म महानगरपालिकाले ९६ करोड ५८ लाख मात्रै राजश्व उठाउन सकेको छ । आगामी आर्थिक बर्षका लागि १ अर्व ७५ करोड उठाउने लक्ष्य लिएको छ।आन्तरिक आयमा घरजग्गा रजिष्ट्रेशन एवं खानी तथा खनिजजन्य पदार्थको बाँडफाँड समेत राखिएको छ।

अन्तर सरकारी वित्तीय हस्तान्तरण आगामी वर्ष १ अर्व ८३ करोड ९९ लाख ७५ हजार रुपैयाँ प्राप्त हुने महानगरका उपप्रमुख चित्रसेन अधिकारीले प्रस्तुत गरेको बजेटमा उल्लेख छ । केन्द्र तथा बागमती प्रदेश सरकारको राजस्व बाँडफाँडबाट ५४ करोड ८० लाख १५ हजार, जनसहभाागिताबाट ५० करोड, बैंक मौज्दातबाट १ अर्व ६५ करोड, तथा सडक बोर्ड नेपालबाट ३ करोड प्राप्त हुने अधिकारीले प्रक्षेपण गरेका छन्।

अन्तर सरकारी अख्तियारी शिर्षकमा महानगरपालिकाले १ अर्व १० करोड रुपैया अनुमानित आय हुने अनुमान गरेको छ । जसलाई अन्तर सरकारी अख्तियारी शिर्षकबाट खर्च तथा लेखाङ्कनको प्रबन्ध मिलाउने बताईएको छ । महानगरपालिकाले निर्माण सम्पन्न हुन नसकेका र भुक्तानी बाँकी रहेका तथा क्रमागत योजनाहरूका लागि १ अर्ब ६५ करोड बजेट विनियोजन गरेको छ।

महानगरका २९ वटा वडालाई सम्बन्धित वडाबाट नै कार्यान्वयन हुने कार्यक्रमका लागि हरेक वडालाई २ करोड ७५ लाखका दरले ७९ करोड ७५ लाख रुपैयाँ विनियोजन भएको छ। चालु आर्थिक बर्ष २ करोड ५० लाखका दरले ७२ करोड ५० लाख बजेट विनियोजन भएको थियो।

सहरी पूर्वाधार, भू–उपयोग तथा वस्ती विकास कार्यक्रमका लागि महानगरपालिकाले ३८ करोड रुपैयाँ विनियोजन गरेको छ । त्यसमध्ये महानगरपालिका ठुला तथा रणनीतिक महत्वका पूर्वाधार निर्माण गर्न एवम् संघीय र बाग्मती प्रदेश सरकारबाट प्रस्ताव भएका समपुरक साझेदारी कोष स्थापना गर्न १० करोड विनियोजन भएको छ।

महानगरभित्र स्मार्ट सार्वजनिक शौचालयहरु निर्माण, फाउण्डेसन सहितको मेसजाली निर्माण हरियाली सहितको नमुना सडक निर्माण, सिँचाइ, कल्भर्ट, ग्राभेल, ओभरहेड ब्रिज निर्माण, परियोजना बैंक निर्माण लगायतका सहरी सौन्दर्यका लागि १६ करोड विनियाजन भएको छ । चालु आर्थिक बर्षमा स्रोत सुनिश्चिता गरी ठेक्का लगाइएका योजनाको स्रोत व्यवस्थापन गरी समयमा सम्पन्न गर्न १२ करोड छुट्टाएको छ।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  २ : ३४ बजे