६ आश्विन २०८१, आइतबार | September 22, 2024

भरतपुर महानगरको पूरक बजेट २५ करोड ९५ लाख रुपैयाँ



भरतपुर महानगरपालिकाले २५ करोड ९५ लाख ४१ हजार रुपैयाँको पूरक बजेट ल्याएको छ।शुक्रबार १२ औं नगर सभाको बैठकमार्फत पूरक बजेट ल्याइएको हो।

उपमेयर चित्रसेन अधिकारीले विनियोजन ऐन, २०७९ ले चालु आर्थिक वर्षको लागि विभिन्न बजेट खर्च शीर्षक तथा उपशीर्षक अन्तर्गत खर्च गर्न दिएको अख्तियारी रकम पर्याप्त नभएकले पूरक बजेट ल्याउनु परेको बताए।

चालू आर्थिक वर्षको लागि विनियोजन ऐनले अख्तियारी नदिएको नयाँ खर्च शीर्षकमा खर्च गर्न आवश्यक भएको, विभिन्न खर्च शीर्षक तथा उपशीर्षकअन्तर्गत नयाँ कार्यक्रम थप एवं संशोधन गर्नुपरेको उनले बताए।

आर्थिक, भौतिक एवं सामाजिक र वातावरणीय पूर्वाधार विकास गरी समुन्नत र सुदृढ महानगर बनाई राष्ट्रको विकासमा टेवा पुर्‍याउने, साधन-स्रोत, अवसर र क्षमताको विकास तथा उच्चतम उपयोग गरी समृद्ध महानगर बनाउने, सेवा प्रवाहलाइ सरल तथा प्रभावकारी बनाउने, वित्त विश्लेषणमार्फत जोखिम न्यूनीकरण गर्ने उद्देश्यले पूरक बजेट ल्याइएको अधिकारीले बताए।

महानगरले आर्थिक वर्ष २०७९/०८० कालागि ५ अर्ब ८४ करोड ४२ लाख ५६ हजार बजेट विनियोजन गरेको थियो। जसमध्ये चालूतर्फ विनियोजित २ अर्व ५३ करोड १३ लाख ५८ हजारमा पुस मसान्तसम्ममा ८८ करोड ६३ लाख १९ हजार(१७ प्रतिशत) खर्च भएको छ।

पूँजिगत खर्चतर्फ विनियोजित ३ अर्व ३१ करोड २८ लाख ९८ हजार रुपैयाँमा पौष मसान्तसम्म ५३ करोड ८३ लाख १७ हजार (३५ प्रतिशत) खर्च भएको छ। महानगरले यस वर्ष १ अर्व ५० करोड रुपैयाँ आन्तरिक आम्दानी प्रक्षेपण गरेकोमा पौष मसान्तसम्म जम्मा ३४ करोड ३४ लाख २९ हजार(२२ प्रतिशत) संकलन भएको छ।

आर्थिक वर्ष २०७९/०८० मा सञ्चित कोषमा मौज्दात रहेको रकम १ अर्व ७ करोड ५ लाख, विनियोजन चालु तथा पुँजिगततर्फ फ्रिजभई संचित कोषमा फिर्ता गरिएको रकम ४८ करोड ४५ लाख ४१ हजार गरी जम्मा एकमुष्ठ १ अर्ब ५५ करोड ९५ लाख ४१ हजार सञ्चितकोषमा रहेको थियो।

भुक्तानी दिन तथा क्रमागत योजनासमेतको लागि एकमुष्ठ १ अर्व ३० करोड बैंक मौज्दातबाट अल्या गरेको रकमबाट खर्च हुने प्रक्षेपण गरिएको थियो बाँकी रु २५ करोड ९५ लाख ४१ हजार रकम सञ्चित कोषमा मौज्दात रहेको देखिएकोले उक्त रकम पूरक बजेटको रुपमा ल्याइएको मेयर रेनु दाहालले बताइन्।

पुरक बजेटबाट समपुरक साझेदारीकोषका लागि ५ करोड, कर्मचारी तलव भत्ता नपुग ३ करोड, विशेष आकस्मिक कोषका लागि ३ करोड, मागमा आधारित सडक तथा अन्य पूर्वाधारमा ३ करोड, पशु विकासतर्फ नपुग दूध अनुदान समेतका लागि १ करोड ९० लाख, शैक्षिक प्रशासनमा १ करोड ५० लाख, विपन्न आर्थिक सहायता मिर्गौला डाइलोसिससमेतका लागि १ करोड ५० लाख, भरतपुर आँखा हस्पिटलका लागि १ करोड, स्मार्ट सीटी मास्टर प्लानमा आधारीत पुर्वाधार निर्माणका लागि १ करोड, बसपार्कको भ्याट तथा अन्य फिर्ताका लागि १ करोड, मागमा आधारित ग्राभेलिङ्ग कार्यका लागि १ करोड, परियोजना बैकं तयारीमा नपुगका लागि ९३ लाख ४१ हजार रुपैयाँ विनियोजन गरिएको छ।

साथै वेपत्ता तथा घाइते परिवारको लागि छुट भएको रकम, विपन्न आर्थिक सहायता, वडा कार्यालय मर्मत तथा संरचना सुधार लगायतका योजनाका लागि पुरक बजेट आवश्यक परेको दाहालले बताइन्। मेयर दाहालले आफ्नो दोस्रो कार्यकालको पद बहालीका अवसरमा गरिएका सरकारी स्वास्थ्य संस्थामा जन्मने भरतपुर महानगरवासीका छोरी सन्तानले १ लाख रुपैयाँ पाउने गरी १५ वर्ष अवधिको जीवन बीमा र ७ हजार लिटरसम्मको खानेपानी महसुल महानगरपालिकाले भुक्तानी गरिदिने निर्णय कार्यान्वयनमा ल्याइएको बताइन्।

राष्ट्रिय बीमा संस्थानसँग सम्झौतागरी हालसम्म २१० जना छोरीको जीवन बीमा सम्पन्‍न भइसकेको र खानेपानी महसुल भुक्तानी कार्यक्रममार्फत् १० वटा खानेपानी उपभोक्ता समितिसँग सम्झौता भई १० हजार २ सय ९७ जना महानगरवासीले सुविधा प्राप्त गरिसकेको उनले बताइन्।

महानगरको पहलमा नारायणी नदीमा नेपाल सरकारको स्रोतबाट निर्माण गर्ने गरी सिग्नेचर ब्रिजको टेण्डर भएको, महानगरकै पहलमा नारायणी तटमा सि-बिच मोडल विकासको कार्यका लागि नारायणी नदी नियन्त्रण आयोजनाबाट १५ करोड ५० लाख, सघन सहरी विकास आयोजनाबाट २ करोड र पर्यटन विभागबाट ७ करोड गरी २४ करोड ५० लाखको निर्माण कार्य अगाडि बढेको, नारायणी नदीको तटबन्धको कार्य महानगरको पहलमा नेपाल सरकारबाट विभिन्‍न पाँच खण्डमा गरी २ अर्ब ५४ करोड ५० लाखको लागतमा ठेक्का सम्झौता भई नारायणी तटबन्ध आयोजनामार्फत् कार्य अगाडि बढेको दाहालले बताइन्।

साथै महानगरभित्र पुल्चोकदेखि गोन्द्राङ्सम्म हरियाली सहितको ६ लेनको सडक फुटपाथ र सर्भिस ट्रयाक निर्माणको कार्य अगाडि बढिरहेको, ४ लेनको बाईपास सडक विस्तार एवम् सतह ढल निर्माणको कार्य पनि अघि बढिरहेको, हुलाकी सडकको १९ किलोमिटर विस्तार एवम् स्तरोन्‍नति र भरतपुर–मेघौली–गोलाघाट (सहायक राजमार्ग) खण्डको ८ किलोमिटर सडक निर्माणाधीन अवस्थामा रहेको उनले बताइन्।  

उनले महानगर र आसपासका क्षेत्रको आर्थिक एवम् पर्यटकीय गतिविधिलाई बढावा दिन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा-सम्मेलन गर्न सिटी हल निर्माण कार्य आगामी आर्थिक वर्षमा सम्पन्न हुने गरी काम भइरहेको, भरतपुर महानगरीय रिङ्‍ग रोड ८८ किलोमिटर मध्ये संघ, प्रदेश र भरतपुर महानगरपालिकाको लगानीमा ४२ किलोमिटर निर्माण सम्पन्न हुने चरणमा रहेको र बाँकी ४६ किलोमिटर स्रोत सुनिश्चित गरी निर्माण गर्ने प्रकृयामा रहेको, लिङ्क रोडहरू निर्माण सम्पन्नको चरणमा रहेको बताइन्।

‘पुस मसान्तसम्म थप २६ किलोमिटर सडक कालोपत्रे, ४.५ किलोमिटर सडक मर्मत र १० किलोमिटर सडक ग्राबेल गर्ने कार्य सम्पन्‍न भएको छ।

यससँगै हालसम्म ६४८ किलोमिटर सडक कालोपत्रे हुनाका साथै ४३२ किलोमिटर सडक ग्राबेल भएको छ,’ दाहालले भनिन्। उनले महानगरको दिगो र योजनावद्ध विकासका लागि पञ्चवर्षीय आवधिक योजना(२०७९/०८०-२०८३/०८४) तयार भएको र महानगरभित्रका सडकको चौडाई निर्धारण गर्न नगर यातायात गुरुयोजना तर्जुमा गरिएको बताइन्।

नगर सभाले भरतपुर महानगरपालिकाको शिक्षा ऐन, २०७५ (तेस्रो संशोधन) र भरतपुर महानगरपालिका सहकारी ऐन, २०७५ (तेस्रो संशोधन) सर्वसम्मत रुपमा अनुमोदन गरेको छ। त्यस्तै मेलमिलापकर्ताहरुको सूचीकरण गर्ने प्रस्ताव पनि नगर सभाबाट सर्वसम्मत अनुमोदन भएको छ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  ३ : २७ बजे