२ आश्विन २०८१, बुधबार | September 18, 2024

विद्युतीय शवदाह निर्माण अलपत्र



चितवन, फागुन ११ गते

चितवनको देवघाटमा विद्युतीय शवदाह निर्माण अलपत्र बनेको छ । दुई वर्षमा काम सम्पन्न गर्नेगरी चार वर्षअगाडि ठेक्का लिएको मिलेनियम सिडगढी जेभीले काम गर्न छाडेर सम्पर्कविहीन भएको छ । तीन पटकसम्म म्याद थपेर ठेक्का अवधि बढाए पनि काम भने पूरा हुन सकेको छैन ।

२०७५ माघ ३ गते ठेक्का सम्झौता गरेको कम्पनीले २०७७ माघ २ गते सम्पन्न गर्नुपर्नेमा समयमा काम नसकेपछि पटक–पटक गरी म्याद थप्दै गत साउन १ गते काम सम्पन्न गर्नका लागि पछिल्लो मिति तोकिएको थियो ।

सो समयावधिमा पनि काम पूरा नभएपछि निर्माण कम्पनीलाई जरिवाना लगाएको सहरी विकास तथा भवन निर्माण कार्यालय चितवनका प्रवक्ता ओमबहादुर खड्काले जानकारी दिनुभयो । तीन पटक म्याद थप्दासमेत काम नभएको र अन्तिम पटकको समय पनि गुजारेर निर्माण छाडेपछि जरिवाना असुलेको बताउनुभयो । समयमा काम नसक्ने, बीचैमा काम छाड्ने, ताकेता गर्दासमेत बेवास्ता गरेपछि धरौटी रकमबाट कटौती गरेर दुई करोड ३१ लाख रुपियाँ जफत गरेको सूचना अधिकारी खड्काले जानकारी दिनुभयो ।

म्याद गुज्रेको सात महिना बितिसक्दा पनि निर्माण कम्पनीबाट थप समयका लागि निवेदनसमेत कार्यालयमा नदिएको कार्यालयका सूचना अधिकारी खड्काले बताउनुभयो । ११ करोड २१ लाख ६४१ रुपियाँ लागतमा निर्माण सम्झौता भएको विद्युतीय शवदाह भवनको २० प्रतिशत मात्र काम भएको छ ।

निर्माण कम्पनी सम्पर्कविहीन भएपछि भवन निर्माण रोकिएको छ । निर्माण कम्पनी खोजी गरी जरिवाना लगाएरै भए पनि काम लगाउने तयारी रहेको कार्यालयले जानकारी दिएको छ ।

कामप्रतिको जवाफदेहीका लागि कम्पनीलाई कालो सूचीमा राख्ने, सचेत गराउने, जरिवाना तोकेर पुनः काममा लगाउने प्रयत्‍न हुने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बीचैमा काम छाड्नेलाई जसरी पनि काम लगाउने प्रयत्न हुन्छ । अधुरो कामको ठेक्का अरूलाई दिन मिल्दैन । उसैबाट गराउनुपर्ने हुन्छ । निर्माण कम्पनीका सम्पर्क व्यक्ति सिपलचन्द्र ढकाल कार्यालयको सम्पर्कमा हुनुहुन्न ।”

हिन्दु धर्मावलम्बीका लागि पवित्र तीर्थस्थल देवघाटधाममा निर्माण हुने विद्युतीय शवदाह भरतपुर महानगर र देवघाट क्षेत्र विकास समितिले गौरवको आयोजनाका रूपमा लिएको छ ।

यहाँ दैनिक कम्तीमा १० शव ल्याउने गरिएको छ । शवदाह भवन निर्माणपछि छिटो दाह संस्कार गर्न सकिने, दाउरा अभावबाट छुट्कारा र प्रदूषणको कमीसमेत हुने देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री अधिकारीले बताउनुभयो । शालिग्राम नेपाल/ गोरखापत्र दैनिकबाट

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ५ : १४ बजे