६ आश्विन २०८१, आइतबार | September 22, 2024

एसियन कप छनोटमा नेपाल समूह ‘बी’ मा



चैत्र-९

उज्वेकिस्तानमा आयोजना हुने एएफसी यू–२० महिला एसियन कप छनोट–२०२४ फुटबल प्रतियोगिताअन्तर्गत दोस्रो चरणको छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ ।    
    
 एसियाली फुटबल महासङ्घ (एएफसी)ले आज सार्वजनिक गरेको समूह विभाजनअनुसार नेपाल समूह ‘बी’ मा परेको हो । नेपालको समूहमा चीन, म्यानमार र चाइनिज ताइपे रहेका छन् ।    
    
 समूह ’ए’ मा अष्ट्रेलिया, भियतनाम, इरान र लेबनान रहेका छन् । यसअघि प्यालेस्टाइनमा भएको पहिलो चरणको छनोटबाट नेपाल दोस्रो चरणमा पुगेको हो । त्यतिबेला नेपाल आफ्नो समूहको विजेता बन्दै दोस्रो चरणमा पुगेको हो । नेपालले पहिलो खेलमा प्यालेस्टाइन र दोस्रो खेलमा नर्दन मारियाना आइल्यान्डलाई पराजित गरेको थियो ।    
    
 दोस्रो चरणको छनोट आगामी जुन ३ देखि ११ तारिखसम्म हुनेछ । जसबाट उत्कृष्ट चार टोलीले उज्वेकिस्तानमा हुने यू–२० महिला एसियन कप खेल्नेछन् । उज्वेकिस्तानमा हुने यू–२० महिला एसियन कप २०२४ को मार्चमा हुनेछ । यू–२० महिला एसियन कपमा विभिन्न १६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । रासस    

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहिबार  ११ : ५८ बजे