२ आश्विन २०८१, बुधबार | September 18, 2024

नासभिल प्रावि गोलीकाण्डः छ जना मारिए



चैत्र-१४

यहाँस्थित एक प्राथमिक विद्यालयमा भएको गोलीकाण्डमा तीन जना बालबालिकासहित छ जनाको मृत्यु भएको छ । यहाँको कोभिन्ट प्राथमिक विद्यालयका पूर्वविद्यार्थीले गोली चलाएको प्रहरीको अनुमान छ ।    
    
आक्रमणमा नौ वर्षका तीन जना बालबालिका तथा ६० वर्षभन्दा माथिका तीन जना शिक्षक मारिएका प्रहरीले जनाएको छ । आक्रमणकारी २८ वर्षीय अड्रे हेललाई पनि प्रहरीले कारबाहीमा मारेको छ ।    
    
तीन देखि ११ वर्षका बालबालिकालाई पढाइने उक्त विद्यालय निजी क्षेत्रबाट सञ्चालित क्रिश्चियन स्कूल हो ।    
    
गोलीकाण्डपछि विद्यालयले एक विज्ञप्ति जारी गर्दै विद्यालय परिवार स्तब्ध भएको जनाएको छ । “हामी अकल्पनीय क्षतिको शोकमा छौ,ँ हाम्रो पाठशाला र गिर्जाघर चकनाचुर भएको छ, हामी हाम्रा छात्रछात्रा, शिक्षक र कर्मचारीको कल्याणमा केन्द्रित छौँ,” विज्ञप्तिमा भनिएको छ ।    
    
गत वर्ष टेक्सासको उभाल्डेमा रहेको एउटा प्राथमिक विद्यालयमा भएको आम नरसंहारको घटना सेलाउन नपाउँदै भर्जिनियाको अर्को विद्यालयका कक्षा एकमा पढ्ने बालकले आफ्नै शिक्षिकामाथि गोली प्रहार गरेका थिए । गत साता डेनभरमा पनि विद्यालयमा भएको गोलीकाण्डमा दुई जना घाइते भएका थिए ।    
    
आएको एक अमेरिकी संस्थाका अनुसार सन् २०२३ प्रारम्भ भए यता एक सय २९ वटा गोलीकाण्ड भइसकेका छन् जसमा चार जनाभन्दा बढीको ज्यान गएको छ ।    
    
यसैबीच, गोलीकाण्डबाट आहत हुनुभएका राष्ट्रपति जो बाइडेनले बन्दुक हिंसाविरुद्धको अभियानलाई पूर्णता दिन अमेरिकी विधायकलाई पुनः आह्वान गर्नुभएको छ ।    
–––  

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  ६ : ५७ बजे