६ आश्विन २०८१, आइतबार | September 22, 2024

मुगुमा १५४ जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया



चैत्र-२४

नेपाल नेत्रज्योति सङ्घको आयोजनामा हिमाली जिल्ला मुगुको छायाँनाथ रारा नगरपालिका र खत्याड गाउँपालिकाका एक सय १८ जनाको आँखा परीक्षण र एक सय ५४ जनाको मोतिविन्दुको निःशुल्क उपचार गरिएको छ । ्    
    
 यही चैत १५ देखि १७ गतेसम्म छायाँनाथ रारा नगरपालिका गमगढीमा सञ्चालित शिविरमा छ सय ४७ जना बिरामीहरुको निःशुल्क आँखा जाँच गरिएको थियो । आँखा परीक्षण गराएका बिरामीमध्येमा मोतिविन्दु देखिएका ६५ जनाको निःशुल्क शल्यक्रिया गरिएको सङ्घका केन्द्रीय उपाध्यक्ष तिलकबहादुर मल्लले जानकारी दिनुभयो ।    
    
 त्यस्तै, मुगुकै खत्याड गाउँपालिकामा चैत २० देखि २२ गतेसम्म सञ्चालन गरिएको शिविरमा चार सय ७१ जनाको आँखा जाँच गर्दा मोतिविन्दु देखिएका ८७ जनाको निःशुल्क शल्यक्रिया गरिएको थियो । जसमा दुईजनाको सामान्य शल्यक्रियासमेत गरिएको थियो ।    
    
 दुईवटा शिविरमार्फत तीन सय ८४ जना बिरामीलाई निःशुल्क चस्मासमेत वितरण गरिएको थियो । नेपाल नेत्रज्योति सङ्घ हिमालय आँखा अस्पताल पोखराका नेत्र अधिकृत गोविन्दनाथ योगीको नेतृत्वमा गएको स्वास्थ्यकर्मीहरुको टोलीले आँखा शिविर सञ्चालन गरेको हो ।    
    
 नेपाल नेत्रज्योति सङ्घ आँखा उपचार केन्द्रले हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग, नेपाल नेत्रज्योति सङ्घ एकीकृत आँखा, कान स्वास्थ्य कार्यक्रम कर्णालीको आर्थिक सहयोग र आइकेयर फाउन्डेसनको विशेष सहयोगमा शिविरहरु आयोजना गरिएको थियो ।    
    
 नेपाल नेत्रज्याति सङ्घले हाल देशभरमा २७ वटा आँखा अस्पताल तथा एक सय ५० भन्दा बढी आँखा उपचार केन्द्र सञ्चालन गरिरहेको छ । सङ्घले देशभरका आँखा अस्पताल, आँखा उपचारका केन्द्र र विभिन्न आँखा शिविरहरुमार्फत हरेक जिल्लाका नागरिकहरुलाई आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको छ ।    
—  

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ४ : ४३ बजे