५ आश्विन २०८१, शनिबार | September 21, 2024

ब्राजिलका राष्ट्रपति लुलाको चीन भ्रमण, युक्रेन विवादबारे पनि छलफल हुने



चैत्र-२७

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले चिनियाँ समकक्षी सी जिनपिङसँग व्यापार र युक्रेनको मध्यस्थताबारे छलफल गर्न आगामी साता बेइजिङमा भेटवार्ता गर्नुहुने भएको छ ।    
    
सतहत्तर वर्षीय वामपन्थी नेता लुलाले आफ्ना अति दक्षिणपन्थी पूर्ववर्ती जायर बोल्सोनारोको शासनकालमा गुमेको केही समयपछि भूराजनीतिक मञ्चमा ब्राजिलको भूमिका पुनः प्राप्त गर्ने आशा गर्नुभएको छ ।    
    
विश्वको दोस्रो अर्थतन्त्र र एशियाली शक्ति राष्ट्रको मार्च २५ देखि ३० सम्म भ्रमण गर्ने तय भए पनि स्वास्थ्यका कारण भ्रमणलाई स्थगित गर्नुपरेको थियो । राष्ट्रपति लुला मङ्गलबार चीन पुग्नु हुनेछ भने शुक्रबार चिनियाँ राष्ट्रपति सीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।    
    
यसैबीच युक्रेनका विदेशमन्त्री माउरो भिएराले लुलाको भ्रमणबारे प्रतिक्रिया दिँदै भन्नुभएको छ, “उनीहरूले युक्रेनमा जारी युद्धका बारेमा कुरा गर्नेछन् र लुलाले युक्रेनमाथि रूसको आक्रमण अन्त्यका लागि मध्यस्थता र वार्ताका लागि आफ्नो प्रस्तावलाई अघि बढाउनुहुनेछ ।    
    
“लुला स्वदेश फर्कने बेलासम्ममा मध्यस्थकर्ता राष्ट्रहरूको एउटा समूह तयार भइसकेको हुनेछ,” भिएराले भन्नुभयो ।    
    
यसअघि दुई पटक ब्राजिलको राष्ट्रपति भइसकेका लुला इरान र अमेरिकाबीचको आणविक वार्ताका क्रममा सन् २०१० मा समाप्त भएको आफ्नो दोस्रो कार्यकालमा जस्तै दक्षिण अमेरिकी महाशक्तिलाई मध्यस्थकर्ताका रुपमा प्रस्तुत गर्न इच्छुक हुनुहुन्छ ।    
    
तर गत वर्ष युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की आफ्ना रूसी समकक्षी भ्लादिमिर पुटिनजत्तिकै युद्धका लागि ‘जिम्मेवार’ रहेको दाबी गरेपछि उहाँको कुटनीतिक भूमिकाको अवसर पछि परेको थियो ।    
    
उहाँले युक्रेनको प्रतिरक्षामा सहयोग गर्न पश्चिमा राष्ट्रसँग मिलेर हतियार पठाउन पनि अस्वीकार गर्नुभएको छ ।    
    
बिहीबार लुलाले ‘पुटिनले युक्रेनी भूभाग राख्न सक्दैनन्’ भने पनि जेलेन्स्कीले ‘सबै कुरा नचाहने’ पनि बताउनुभएको थियो । सन् २०१४ मा मस्कोले कब्जा गरेको क्रिमियामा कीएभले आफ्नो दाबी त्याग्न पनि उहाँले सुझाव दिनुभएको थियो ।    
    
लुलाको यस भनाइबारे युक्रेनको विदेश मन्त्रालयका प्रवक्ता ओलेग निकोलेन्कोले ट्वीटरमा भन्नुभएको छ, “युक्रेनले आफ्नो एक सेन्टिमिटर भूमि पनि त्याग्नुपर्ने कुनै कानुनी, राजनीतिक वा नैतिक कारण छैन ।”    
    
उहाँले भन्नुभयो, “शान्ति बहालीका लागि कुनै पनि मध्यस्थता प्रयास सार्वभौमिकताको सम्मान र संयुक्त राष्ट्र सङ्घको बडापत्रअनुसार युक्रेनको क्षेत्रीय अखण्डताको पूर्ण बहालीमा आधारित हुनुपर्दछ ।”    
    
– ‘अतिशयोक्ति’ –    
    
गत महिना मस्को भ्रमणका क्रममा सीले पुटिनसँग छलफल गरेको योजना युद्धविराम र संवादका आधारमा चीनले द्वन्द्व समाधानका लागि १२ बँदे प्रस्ताव गरेको छ ।    
    
‘यी शान्तिका लागि आधारभूत शर्त हुन्’, भिएराले बेइजिङको प्रस्तावलाई ‘निकै सकारात्मक’ मान्नुभएको छ ।    
    
युक्रेनका पश्चिमी सहयोगीहरूले मस्कोको आक्रमणलाई मौन समर्थन गरेको भन्दै सीको दृष्टिकोणको कडा आलोचना गरेका छन् ।    
    
बेइजिङ भ्रमणमा रहेका फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँसँगको संयुक्त वक्तव्यमा सीले ‘युक्रेनमा शान्ति बहालीका लागि गरिने कुनै पनि प्रयासलाई समर्थन गर्ने’ प्रतिबद्धता जनाउनुभएको थियो ।    
    
तर मस्कोले द्वन्द्वको कुनै पनि ‘राजनीतिक समाधान’ अस्वीकार गरेको छ ।    
    
लुलाका प्रमुख सल्लाहकार सेल्सो अमोरिमले गत महिना रूसमा पुटिनलाई भेटेपछि ब्राजिलका कूटनीतिज्ञले सीएनएनसँग भन्नुभएको थियो, “वार्ताबाट शान्तिका लागि ढोका खुला छ भन्नु अतिशयोक्ति हुनेछ ।”    
    
– भ्रमणको शीर्ष बिषय व्यापार नरहने –    
    
राष्ट्रपतिको रूपमा आफ्नो तेस्रो कार्यकालको तीन महिना भन्दा बढी समयपछि, लुलाले ठूलो देशको आफ्नो तेस्रो विदेश भ्रमण गर्न लाग्नुभएको हो । उहाँले यसपहिले अर्जेन्टिना र संयुक्त राज्य अमेरिकाको भ्रमण गरिसक्नुभएको छ ।    
    
चीन ब्राजिलको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो र लुलाको दक्षिण अमेरिकी विशाल देशलाई विश्वव्यापी भूराजनीतिक मञ्चमा पुनः स्थापित गर्ने महत्वाकाङ्क्षाको कुञ्जी हो ।    
    
बेइजिङका अधिकारीहरूले पनि ब्राजिललाई आफ्नो रणनीतिक र आर्थिक योजनाहरूमा एक प्रमुख शक्तिको रूपमा लिन्छन् ।    
    
लुलाको भ्रमण व्यापारलाई केन्द्रमा राख्नेभन्दा पनि राजनीतिक महत्वको हुने बताइएको छ ।    
    
उहाँको चीन आगमन अघि नै गत हप्ता, चीनले ५०० ब्राजिलियाली र चिनियाँ व्यवसायीहरूको लागि एक फोरमको आयोजना गरेको थियो । परिणामस्वरूप २० भन्दा बढी सहयोगसम्बनधी सम्झौताहरूमा हस्ताक्षर भएको थियो ।    
    
सम्झौतामध्ये एउटा प्रमुख बिषय दुई देशबीचको व्यापारिक कारोबार अमेरिकी डलरको साटो रियास र युआनमा गर्ने रहेको थियो ।    
    
दुई देशबीचको द्विपक्षीय व्यापार सन् २०२२ मा १५० अर्ब अमेरिकी डलरभन्दा बढी पुगेको छ ।    
    
ब्राजिल–चीन व्यापार परिषद्का अनुसार सन् २००७ देखि २०२० सम्म ल्याटिन अमेरिकामा चिनियाँ लगानीका लागि पनि ब्राजिल मुख्य गन्तव्य थियो ।    
    
मुख्यतया राजनीतिक उद्देश्यका लागि बताइएको यो भ्रमणमा ब्राजिलका राष्ट्रपतिले बेइजिङ तथा चीनको प्रमुख व्यापारिक शहर शाङ्घाई जानुहुनेछ । साङ्घाइमा आफ्नो राजनीतिक सहयोगी डिल्मा रूसेफ, जसले सन् २०११ मा उनको उत्तराधिकारीको रूपमा पदभार ग्रहण गर्नुभएको थियो, लाई भेट्नुहुनेछ । रूसेफले हालै ब्रिक्स बैंकको रूपमा पनि चिनिने नयाँ विकास बैंकको प्रमुखको रूपमा कार्यभार सम्हाल्नुभएको छ ।    
    
लुलाको पछिल्लो दुई कार्यकालमा सन् २००३ देखि २०१० सम्म ब्राजिलले रुस, भारत, चीन र दक्षिण अफ्रिकासँग मिलेर उदीयमान अर्थतन्त्रको ब्रिक्स समूह निर्माण गरेको थियो ।    
स्वदेश फर्कने क्रममा लुलाले संयुक्त अरब इमिरेट्सको भ्रमण गर्नुहुनेछ ।     

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  १ : ०४ बजे