१ आश्विन २०८१, मंगलबार | September 18, 2024

अमेरिकी आलोचनाको ब्राजिलद्वारा खण्डन



बैशाख-०५

ब्राजिलले आफ्ना राष्ट्रपतिमाथि युक्रेन युद्धलाई लिएर चीन र रुसको भाषा बोलेको आरोपको खण्डन गरेको छ । राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले सोमबार मस्कोका एक जना शीर्ष कूटनीतिज्ञसँग भएको भेटवार्तालाई लिएर वासिङ्टनले गरेको आलोचनाको ब्राजिलले अस्वीकार गरेको हो ।    
    
चीन र मध्यपूर्वका भ्रमण पूरा गरी राजधानी फर्कनुभएका ब्राजिलका राष्ट्रपति र रुसका विदेशमन्त्री सेर्गेइ लाभरोभसँगको भेटवार्तामा पनि उहाँले चीन र मध्यपूर्व भ्रमणका बेला ‘युक्रेन युद्ध अन्त्य तथा त्यहाँ शान्ति स्थापनाका निम्ति अमेरिकाले प्रयास गर्नुपर्ने’ मा जोड दिनुभएको थियो ।    
    
युक्रेनमा युद्ध स्वयम् किएभले नै निम्त्याएको उहाँको कथनप्रति अमेरिकाले आपत्ति जनाएको थियो । वासिङ्टनले राष्ट्रपति लुला चीन र रुसका समर्थक भएको आरोप लगाएको छ । मस्कोमाथि प्रतिबन्ध लगाउने तथा किएभलाई सुदृढ पार्ने अन्तरराष्ट्रिय प्रयास तथा विशेष गरी पश्चिमा राष्ट्रका कदमप्रति राष्ट्रपति लुलाले गर्नुभएको टिप्पणीबाट अमेरिका रुष्ट भएको छ ।    
    
युक्रेन युद्धलाई लिएर चीन तटस्थ देखिए पनि मस्कोसँगको बेइजिङको साझेदारी कायम छ । बेइजिङ मस्कोमाथि प्रतिबन्ध लगाउने नीतिको विपक्षमा छ । युक्रेनमा शान्ति कायम गर्न मध्यस्थता गर्ने प्रयासस्वरुप केही साताअघि बेइजिङले शान्ति स्थापनाको मार्गचित्र पनि प्रस्तुत गरेको थियो ।    
    
करिब एक महिनाअघि रुस भ्रमणका बेला चिनियाँ राष्ट्रपति सी चीनफिङले युक्रेनको मुद्दामा शान्ति र न्यायका निम्ति आवाज उठिरहेको बताउनुभएको थियो । विश्वका अधिकांश देशले तनाव कम गर्ने, शान्ति वार्ताको पक्षमा उभिने अभिमत जाहेर गरेका बताउँदै उहाँले वार्ताको माध्यमबाट समस्याको समाधान गर्नुपर्नेमा जोड दिनुएको थियो ।    
–––  

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलबार  ५ : २३ बजे