४ आश्विन २०८१, शुक्रबार | September 21, 2024

साना तथा घरेलु उद्योगलाई बलियो बनाउन सहयोग गर्छ– मुख्यमन्त्री कार्की



बैशाख-०६

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले घरेलु तथा साना उद्योगलाई बलियो बनाउन सहयोग गर्ने बताउनुभएको छ ।    
    
 सामाजिक विकास मन्त्रालयद्वारा आज आयोजित ‘उत्कृष्ट महिला उद्यमी प्रोत्साहन र सम्मान’ कार्यक्रममा उहाँले रोजगारी, सीप र गरिबी निवारणमा सहयोग पु¥याउने यस प्रकारका उद्योगलाई सहयोग गर्न आगामी नीति तथा कार्यक्रम एवं बजेटमा उल्लेख गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।    
    
 मुख्यमन्त्री कार्कीले पहाडी क्षेत्रको भूमिलाई उर्वर बनाउन तथा युवालाई रोजगारी उपलब्ध गराउन साना उद्योग स्थापना गरी महत्त्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । उहाँले घरेलु उद्योगका उत्पादनलाई बजारीकरण गर्न आवश्यक तथ्याङ्क सङ्कलन गर्न सामाजिक मन्त्रालयलाई निर्देशन दिँदै यसबाट रोजगारी वृद्धि हुने र उद्योग फस्टाउनका साथै प्रदेश समृद्धि हुने धारणा राख्नुभयो । मुख्यमन्त्री कार्कीले महिला उद्यमी समाजमा पृथक पहिचान कायम गर्नुका साथै यसले समाजलाई सही बाटो देखाउने विचार व्यक्त गर्नुभयो ।    
     
 सामाजिक विकास मन्त्री बुद्धीकुमार राजभण्डारीले उद्यमी महिलाले अन्य जिल्लाका महिलालाई सीप र प्रशिक्षण प्रदान गर्न आग्रह गर्दै संविधानमा व्यवस्था भएअनुसार रोजगारीको अधिकार खोज्नुपर्नेमा जोड दिनुभयो ।    
    
 मन्त्रालयका सचिव वासुेदव दाहाल, सम्मानित उद्यमी विमला विश्वकर्मा, मातृका देवी प्रसाईं, बीना राई, साना उद्योग महासङ्घका प्रथम उपाध्यक्ष सीता छाराहाङ र सञ्चारकर्मी सुशीला पाठकले निरन्तरता र इच्छाशक्तिले उद्योग सञ्चालनमा सफलता प्राप्त हुने विचार राख्नुभयो ।    
    
 सो अवसरमा मुख्यमन्त्री कार्कीले प्रदेशका १४ जिल्लाका २९ जना महिला उद्यमी महिलालाई नगद रु ५० हजारसहित सम्मान गरिएको थियो ।    
–––  

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  ६ : १५ बजे