६ आश्विन २०८१, आइतबार | September 22, 2024

ज्येष्ठ नागरिकलाई निःशुल्क दाँत  



  दाँतको समस्याले पीडित पाल्पा रामपुरका ७४ वर्षीय नेत्रप्रसाद तिवारी यतिबेला निःशुल्क कृत्रिम दाँत राख्न पाएपछि फुर्तिलो देखिनुभएको छ ।    
    
 दाँत नहुँदा अनुहारको चमक हराएको, गाला चाउरी परेको र खान पनि समस्या भएको भन्दै उहाँले कृत्रिम दाँत राखेपछि निकै सहज भएको अनुभव सुनाउनुभयो । उहाँको अनुहारमा देखिएको यो खुसी भने गाउँमा आयोजना गरिएको दन्तरोग विशेषज्ञ निःशुल्क शिविरका कारण उहाँले पाउनुभएको हो ।    
    
 पाल्पाको बगनासकाली गाउँपालिका– १ बस्ने तुलसा खनाल पनि रामपुरमा निःशुल्क कृत्रिम दाँत शिविर आयोजनामा नयाँ दाँत राख्न पाएपछि खुसी हुनुभएको छ । शिविरमा लामो यात्रा गरी आइपुग्नुभएकी उहाँ नयाँ दाँत राखेपछि उमेर नै घटेको जस्तो भान भएको बताउनुभयो ।     
    
 पाल्पाको रामपुरमा कालीगण्डकी फाउण्डेशन नेपालले ट्राभल डेन्टिष्ट्री नेपालको प्राविधिक सहयोगमा ज्येष्ठ नागरिकहरुलाई लक्षित गरी आयोजना गरिएको निःशुल्क कृत्रिम दन्त शिविरबाट यहाँका ज्येष्ठ नागरिकले सुविधा पाउनुभएको छ ।    
    
 रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले शिविरमा सहभागीलाई दाँत हस्तान्तरण गर्दै नयाँ दाँतले सुरुमा केही अप्ठ्यारो अनुभुती भएपनि नियमित प्रयोग गर्दै गएपछि सहज हुने बताउनुभयो ।    
 नयाँ दाँत राख्न महङ्गो पर्ने भएपछि ज्येष्ठ नागरिकलाई लक्षित गरी निःशुल्क शिविर आयोजना गरिएको कालीगण्डकी फाउण्डेशन नेपालका अध्यक्ष निलकण्ठ भण्डारीले बताउनुभयो ।    
    
 एक महिनामा ६० जनाको नयाँ दाँत राखिएको ट्राभल डेन्टिष्ट्री नेपालका अध्यक्ष डाक्टर शङ्कर श्रेष्ठले जानकारी दिनुभयो । नयाँ दाँत राख्न डराउने, छाला, हड्डीसम्बन्धी समस्या भएका बिरामीलाई उपचार गरी दाँतको महत्वबारे परामर्श लिएर कृत्रिम दाँत राख्न उप्रेरणा गरेको उहाँको भनाइ छ ।    
    
 शिविरमा २१ जना दन्त रोग विशेषज्ञ डाक्टरसहित ३१ जना स्वास्थ्यकर्मीले सेवा दिनुभएको थियो । एक जनाको पूरै दाँत राखेको न्यूनतम रु ३० हजारदेखि रु ४० हजारसम्म खर्च हुने गरेको छ । शिविरमा रामपुर नगरपालिका, निस्दी, बगनासकाली र रम्भा गाउँपालिकाका नागरिकले सेवा लिएका छन् ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  ४ : २३ बजे