२ आश्विन २०८१, बुधबार | September 18, 2024

भरतपुरका ४३६ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण



चितवन, १ जेठ :
चाइना फाउण्डेशन फर द रुरल डेभलपमेन्ट नामक संस्थाले भरतपुर महानगरपालिकाका विभिन्न विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री उपलब्ध गराएको छ ।

महानगरका छ वटा विद्यालयका एक हजार नौ सय ९७ विद्यार्थीलाई शैक्षिक सामग्री उपलब्ध गराउन लागेको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आज भरतपुर–२५ को राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत चार सय ३६ विद्यार्थीलाई सामग्री हस्तान्तरण गर्नुभयो । क्रमशः अन्य विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिनेछ ।

दाहालले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्विका लागि वडास्तरीय शिक्षा समिति गठन गरी काम गरिएको बताउनुभयो । भरतपुर महानगरका सामुदायिक विद्यालयमा आठ हजार विद्यार्थी बढाउन सफल भएको भन्दै उहाँले सामुदायिक विद्यालयको शैक्षिक एवं भौतिक पूर्वाधार विकासमा महानगरपालिका लागि रहेको बताउनुभयो ।

फाउण्डेशनले ग्रामीण क्षेत्रमा रहेका विद्यालयमा काम गर्दै आइरहेको छ । चितवन, गोरखा र दोलखामा फाउण्डेशनले काम गर्दै आइरहेको सो अवसरमा जानकारी दिइयो ।

सो अवसमार विद्यार्थीलाई झोला, रङको बक्स, कापी, टिफिन बक्स, कलम, पानीको बोटल, साबुन, ब्रस, मञ्जनलगायत सामग्री वितरण गरिएको थियो ।

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार  ९ : ०६ बजे