६ आश्विन २०८१, आइतबार | September 22, 2024

काममा सुधार नगरे ठेक्का तोड्ने चेतावनी, निर्माणाधीन सबस्टेसन अनुगमनमा घिसिङ



जेठ-१४

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार मकवानपुरको हेटौंडा उपमहानगरपालिकास्थित थानाभर्‍याङमा निर्माणाधीन सबस्टेसनको अनुगमन भ्रमण गरेका छन् ।

कार्यकारी निर्देशक घिसिङले निर्माणाधीन ४०० केभी, २२० र १३२ केभी सबस्टेसनको निर्माण प्रगतिका विषयमा जानकारी लिएका थिए । गत फागुनको अन्तिम साता पनि अनुगमन भ्रमणमा गएका घिसिङ २२० केभी सबस्टेसन निर्माणमा त्यसपछि कुनै प्रगति नदेखिएपछि आक्रोशित बने ।

त्यतिबेला ठेकेदार कम्पनीहरूले आगामी असारभित्र सबस्टेसनको निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएका थिए । तर, प्रतिबद्धताविपरीत निर्माणस्थलमा कुनै प्रगति नदेखिएपछि आक्रोशित बनेका घिसिङले ठेकेदार कम्पनीलाई काममा सुधार नगरे ठेक्का तोड्ने चेतावनी दिए ।

उनले सबस्टेसन निर्माणस्थलबाटै निर्माणको ठेक्का लिएका भारतीय कम्पनीहरू सिमेन्स लिमिटेड र टेल्मोस इलेक्ट्रोनिक्सको संयुक्त उपक्रमका पदाधिकारीहरुलाई फोन गरी तोकिएको समयमा सम्पन्न नगरे जरिवाना तिराउने चेतावनी दिएका छन् । भारतको दिल्लीमा रहेका सिमेन्सका निहित गुप्ता र टेलमोसका रवि गुप्तालाई छुट्टाछुट्टै फोन गरी आइतबार काठमाडौं आएर संयुक्त बैठक गर्न निर्देशन दिएका हुन् ।

‘सबस्टेसन निर्माणको अनुगमनमा नियमित रुपमा आइरहेको छु । विगत दुई महिनामा केही काम गरेनौ, सबस्टेसनको निर्माण तत्काल सम्पन्न गरी पूर्व-पश्चिममा थप विद्युत् प्रवाहका लागि हामीलाई चाप छ, सबस्टेसन तत्काल सञ्चालन गर्न सकेनौं भने दैनिक रुपमा ४००-५०० मेगावाट विद्युत् खेर जान्छ, यसको सबै क्षतिपूर्ति तिराउँछौं‚’ उनले भने‚ ‘तुरुन्त काठमाडौं आएर संयुक्त बैठक गर । यदि काम गर्न सक्दैनौ भने छोडेर जाऊ ।’

चिनियाँ कम्पनी सेन्ट्रल चाइना पावर ग्रिड इन्टरनेसनल इकोनमिक एन्ड ट्रेडको काम सन्तोषजनक नभएपछि प्राधिकरणले उक्त ठेक्का तोडी बाँकी रहेको काम गर्न टेन्डरमार्फत सिमेन्स लिमिटेड र टेल्मोस इलेक्ट्रोनिक्सको संयुक्त उपक्रमसँग ५ पुस २०७५मा ठेक्का सम्झौता भएको थियो । यही प्याकेजमा सुनसरीको इनरुवामा पनि २२० केभीको सबस्टेस निर्माणको सम्झौता पनि गरिएको छ । कोभिड-१९ महामारी लगायत कारणले प्रभावित भएपछि सबस्टेसनको निर्माण आगामी असारभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आइतबार  १२ : ४७ बजे