६ आश्विन २०८१, आइतबार | September 23, 2024

चितवनका ५० हजार ६५५ जना पुरुष र १४ हजार ४०९ जना महिलाको बिदेशमा बसोबास



जेठ-१४

तथ्यांक कार्यालय चितवनले बिहीबार सार्वजनिक गरेको बाह्रौँ राष्ट्रिय जनगणनाको नतिजा अनुसार ६५ हजार ६४ जना नागरिक विदेशमा बसोबास गरेकाका कारण परिवारमा अनुपस्थित रहेका हुन् ।

जसमध्ये ५० हजार ६५५ जना पुरुष र १४ हजार ४०९ जना महिला रहेका छन् । सबैभन्दा धेरै विदेशमा बसोबास गर्ने मानिसको संख्या भरतपुर महानगरपालिकामा रहेको तथ्याङ्क कार्यालयका प्रमुख यज्ञमूर्ती भण्डारीले जानकारी दिए । महानगरमा ३७ हजार ५३४ जना मानिस विदेशमा बसोबास गर्नेको संख्या रहेको छ । जसमा २८ हजार ७०९ पुरुष र ८ हजार ८२५ महिला रहेका छन् । सबैभन्दा कम इच्छाकामनामा ८३७ जना रहेको कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । यस्तै रत्ननगर नगरपालिकामा आठ हजार ४४९, खैरहनी नगरपालिकामा ६ हजार ३६१, राप्ती नगरपालिकामा ५ हजार ३४१, माडी नगरपालिकामा तीन हजार २८७ र कालिका नगरपालिकामा तीन हजार २५५ रहेको कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चितवनमा विभिन्न जिल्लाबाट बसाइँ सरी आएका नागरिकहरु मध्ये ३३.२९ प्रतिशत विवाह रहेको छ । अहिले बसोबास गरेको स्थानमा आउनुका अन्य कारणहरु आश्रित ६०.६७ प्रतिशत, काम र रोजगारी ४१.६३ प्रतिशत, अध्ययन तालिम १७.०३ प्रतिशत, कृषि १३.४४ प्रतिशत, व्यापार व्यवसाय ७.१३ प्रतिशत, घर फर्किएको ३.७१ प्रतिशत, प्राकृतिक प्रकोप २.२१ प्रतिशत, उल्लेख नभएको ०.५७ प्रतिशत र अन्य १८.७९ प्रतिशत रहेका छन् ।

जनगणनाको नतिजाले जिल्ला कुल परिवार ७९.२८ प्रतिशत परिवारले खाना पकाउन अक्सर एलपी. ग्यास प्रयोग गर्ने गरेको देखिएको छ । खाना पकाउन अक्सर १८.३१ प्रतिशत काठ-दाउरा, १.७० प्रतिशत बायो ग्यास, ०.६१ प्रतिशत बिजुली, ०.०४ प्रतिशत गुइठा, ०.०२ प्रतिशत मट्टितेल र ०.०३ प्रतिशत अन्य इन्धन प्रयोग गर्ने परिवारका सदस्य रहेका छन् ।

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आइतबार  ४ : ५१ बजे