४ आश्विन २०८१, शुक्रबार | September 21, 2024

सूर्तीजन्य पदार्थमा सरकारले न्यून कर लगाएकोमा एक्सन नेपालको आपत्ति



आज विश्वका १८२ देशले धूमपानरहित दिवस मनाइरहेका छन् । यो वर्ष विश्व स्वास्थ्य संगठनले ‘हामीलाई खाद्यान्न चाहिन्छ, सूर्तीजन्य पदार्थ होइन’ भन्ने नाराका साथ दिवस मनाइन लागिएको हो ।

यस वर्षको नाराले कुपोषणको समस्यालाई ध्यानमा राख्दै खाद्य सुरक्षा सुधार र थप पौष्टिक खाद्य उत्पादन गर्न वैकल्पिक दिगो खेतीका लागि नीति र रणनीति विकास गर्ने विषयमा राष्ट्रको ध्यानाकर्षण गराएको छ । यसैबीच, एक्सन नेपालले सरकारले सूर्तीजन्य पदार्थमाथि करको दर कम राखेकोमा असन्तुष्टि जनाएको छ ।

‘विश्व स्वास्थ्य संगठनले सूर्तीजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गर्न कम्तीमा ७५ प्रतिशत कर लगाउनुपर्छ भन्दै आएको छ,’ एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले भने, ‘तर, नेपालले बढाउनुपर्ने करको दर झन् घटाउन थालेको छ । र, सरकारले कुपोषण खाद्य सुरक्षा सुधार र थप पौष्टिक खाद्य उत्पादन गर्नेतिर ध्यान नदिई सूर्तीजन्य पदार्थको उत्पादन तथा उपभोगलाई संरक्षण गर्ने नीति अवलम्बन गरेको देखिन्छ ।’

उनले अगाडि थपे, ‘यसअघि पनि दक्षिण एसियामा सबैभन्दा कम कर (३३.२५ प्रतिशत) लगाउने मुलुक नेपालले यसपटक करको दर पक्कै बढाउछ भन्ने आम अपेक्षा थियो । हामीले गरेको प्रारम्भिक विश्लेषणले सूर्तीजन्य पदार्थमा गत वर्षभन्दा करिब ५ प्रतिशतले करको दर घटने देखिएको छ ।’

अध्यक्ष चन्दका अनुसार बजेटमा न्यूनरूपमा (२.५ देखि ४ प्रतिशतसम्म) कर वृद्धि गरेको देखिए पनि मुद्रास्फिति दर ७.८ प्रतिशतले वृद्धि हुँदा करको दर घट्ने भएको हो । यो पछिल्लो १० वर्ष यताकै न्यून हो । उनले भने, ‘सरकारले यसपटकको बजेट भाषणद्वारा अवलम्बन गरेको नीतिले खाद्यान्न झन् झन् महंगो हुँदै जाने र सूर्तीजन्य पदार्थको मूल्य झन् सस्तिदै जाने अवस्था सिर्जना गरेको छ ।’ अध्यक्ष चन्दले वार्षिक २७ हजार बढी नेपालीको ज्यान लिने सूर्तीजन्य पदार्थलाई नियन्त्रण गर्नुको सट्टा संरक्षण र प्रवर्द्धन गर्ने गरी आएको बजेट वक्तव्यको घोर भर्त्सना गर्दै यसलाई तत्काल सच्याउन आग्रहसमेत गरेका छन् ।

विश्वमा धूमपान तथा सूर्तीजन्य पदार्थको सेवनले हरेक वर्ष ८० लाखभन्दा बढि मानिसको मृत्यु हुने विश्व स्वास्थ्य संगठनको तथ्यांक छ । यसको सेवनका कारण हुने ८० प्रतिशत मृत्यु न्यून तथा मध्यम आय भएका मुलुकमा हुने गरेको पाइएको छ ।

नेपालमा पनि धूमपान तथा सूर्तीजन्य पदार्थको प्रयोग महामारीको रूपमा देखा परेको छ । हाल नेपालमा कुल जनसंख्याको झन्डै २९ प्रतिशत मानिस धूमपान तथा सूर्तीजन्य पदार्थको सेवन गर्ने गरेका नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सर्वेक्षणले देखाएको छ । फरकधार

प्रकाशित मिति : १७ जेष्ठ २०८०, बुधबार  ११ : ५९ बजे