३ आश्विन २०८१, बिहिबार | September 20, 2024

भरतपुर महानगरभित्र विद्युतीय बसहरु सञ्चालन गर्ने महानगरको जोड



असार-११

भरतपुर महानगरले विद्युतीय सवारी साधन मात्रै खरिद गर्ने जनाएको छ । विद्युतीय सवारी साधन चढ्न नगरवासीलाई पनि प्रोत्साहन गरिने छ ।

भरतपुर महानगरपालिका वडा नं. १ को रामनगरमा नेपालकै अत्याधुनिक चार्जिङ स्टेशन निर्माण गरिने छ । साथै गीतानगर, चनौली, नारायणगढ बसपार्क र महानगर परिसरमा समेत विद्युतीय सवारी चार्जिङ्ग स्टेसन निर्माण गरिने छ ।

आउने वर्ष वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको समन्वय र सहकार्यमा महानगरभित्र विद्युतीय बसहरु सञ्चालन गर्ने नीतिलाई महानगरले प्राथमिकतामा राखेको मेयर रेनु दाहालले बताइन् ।

बर्सेनि हुने डुबानलाई कम गर्न महानगरपालिकाका मुख्य सहरी क्षेत्रमा सडक पिच निर्माण सँगै सतह ढल निर्माण गर्ने योजना छ । संघीय सरकारको लगानीमा महानगरको मुख्य सहरी क्षेत्रमा प्रशोधनसहितको ढल निकासका लागि खानेपानी तथा ढल व्यवस्थापन सम्बन्धी मेगा आयोजना सुरु गरिने छ ।

उज्यालो भरतपुर कार्यक्रम अन्तर्गत भरतपुरका विभिन्न मुख्य सडक तथा भित्री बजारमा पनि स्मार्ट सडक वत्ती र हाई मास्ट एवम् मिनी मास्ट बत्ती जडान गर्ने र विस्तारको कार्यलाई निरन्तरता दिइने मेयर दाहालले बताइन् ।

पूर्वाधार विकासको कार्यलाई व्यवस्थित गर्न ठूला आयोजनाहरूको ‘परियोजना बैंक’ तयार गर्ने, संघीय सरकारका सम्बन्धित निकायहरूको सहयोग तथा समन्वयमा युटिलिटी कोरिडरको अवधारणा अनुसार महानगरपालिका क्षेत्रभित्रका विद्युत, टेलिफोन, केबुल लाइन र इन्टरनेटका तारलाई चरणबद्ध रुपमा भूमिगत गर्ने कार्यलाई निरन्तरता दिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

१६ मिटर भन्दा बढी फराकिला सडकमा हरियालीसहितको फुटपाथ बनाउने, साइकल लेनसहितको सडक निर्माण गर्ने कार्यलाई निरन्तरता दिने, देश भित्र नै उत्पादित सिमेन्टको खपत वढाउन ६ मिटर र ६ मिटरभन्दा सानो क्षेत्राधिकार भएका सडकहरू, भिरालो र घुम्ती चोकहरूमा ढलान गर्ने कार्यलाई प्राथमिकता दिने नीति महानगरले लिएको छ ।

केरूङ्गा घोल, पुङ्गी खोला लगायतलाई महानगरको सतहको आकाशे पानी-निकासको क्षेत्र घोषणा गरी संरक्षण तथा सौन्दर्यीकरण गर्ने, नारायणी नदी किनारमा निर्माणाधीन सी बिच मोडेल सहितको मनोरञ्जन पार्कलाई व्यवस्थित गर्न र थप निर्माण कार्यलाई सम्पन्न गर्न गुरुयोजना बमोजिम संघ एवं प्रदेश सरकारसँगको साझेदारीलाई निरन्तरता दिने मेयर दाहालले बताइन् ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  १ : २४ बजे