४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

चितवनमा नागरिकताबाट वञ्चित भएर अनागरिक भएका ३९ नागरिकले लिए नागरिकता



असार-११

चितवनमा एकै दिन जन्मका आधारमा बुबाआमाको नेपाली नागरिकता भएका ३९ सन्तानले वंशजको नागरिकता पाएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता ऐन कार्यान्वयन गर्न सर्वोच्च अदालतले आदेश दिएसँगै जन्मका आधारमा नेपाली नागरिकता लिएकाहरूका सन्तानले वंशजको आधारमा नागरिकता पाउन थालेका हुन्।

जिल्ला प्रशासनका कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार ८८ जनाले आइतबार कार्यलयबाट नागरिकता बनाएकोमा ३९ जना बुबाआमाको जन्मका आधारमा नागरिकता भएकाहरू  थिए।

सर्वोच्चले नागरिकता ऐनको संशोधित व्यवस्था कार्यान्वयन नगर्न यसअघि जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि ऐन कार्यान्वयनको बाटो खुलेको हो।

ग्रुप फर सिटिजनसिप नेपालका संयोजक शिवु क्षेत्रीका अनुसार वर्षौँदेखि नागरिकताबाट वञ्चित भएर अनागरिक भएकाहरूले नागरिकता पाएसँगै उत्साहित भएका छन्।

चितवनमा मात्र उमेर पुगेर पनि नागरिकता नभएका चार हजारभन्दा बढी छन्। तर, वडा कार्यालयले सहज रूपमा सिफारिस नदिँदा उनीहरूलाई समस्या भएको छ । उनले भने, ‘सम्बन्धित निकायले यस विषयमा चासो देखाउन आवश्यक छ।’

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  २ : २४ बजे