६ आश्विन २०८१, आइतबार | September 22, 2024

बागमती प्रदेशसभाको बैठक : प्रतिपक्ष दलद्वारा बजेटमाथि संशोधन गर्न माग



मकवानपुर, १३ असार :
बागमती प्रदेशसभाको आज साँझ बसेको बैठकमा प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आव २०८०/८१ बजेट संशोधनको माग गरेको छ ।

राप्रपा संसदीय दलका नेता उद्धव थापाले प्रदेश सरकारले ल्याएको आगामी आव २०८०/८१ को विनियोजित बजेट लक्ष्यविहीन एवं जनताप्रति विभेदकारी भएकाले बजेटलाई पुनःसंशोधन गर्नुपर्ने आफ्नो दलको माग रहेको बताउनुभयो ।

उहाँले सरकारमा प्रतिनिधित्व गर्नुहुने मुख्यमन्त्री र मन्त्रीले क्रमशः आफ्नो चुनावी क्षेत्र धादिङ, सिन्धुपाल्चोक र नुवाकोटलाई विशेष प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएकामा चिन्ता व्यक्त गर्नुभयो । जनतालाई सम्मान दृष्टिकोणले विकासको पूर्वाधारले समेट्न नसके प्रदेशसभाको आगामी बस्ने बैठकमा निरन्तर अवरोध गरिरहने जानकारी उहाँले दिनुभयो ।

थापाले बजेटले चुनावी क्षेत्रलाई मात्र नभई काठमाडौँको बासिन्दाको खानेपानीलगायत अन्य जिल्लाका सर्वसाधारणलाई खानेपानी कृषि उत्पादन, सडक, रोजगारीका अवसरलगायत आयआर्जन गर्ने आर्थिक प्याकेज कार्यक्रमलाई प्राथमिकता दिन आग्रह गर्नुभयो ।

आजको बैठक बिहान ११ बजे बस्ने भनिए पनि सत्तापक्ष र प्रतिपक्षबीच विनियोजन बजेटमाथि छलफल गर्ने सहमति नजुटेपछि दिउँसो साढे १ बजेका लागि सारिएको थियो । आज अपराह्न ५ः १५ बजेदेखि बसेको बैठक करिब ३५ मिनेट सञ्चालन भएर स्थगित गरिएको थियो । सो बैठकमा आज आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानित (बजेट) माथि छलफल हुने कार्यसूची थियो ।

प्रदेशसभाको अर्को बैठक यही असार १७ गते अपराह्न २ बजे बस्नेछ ।  रासस

प्रकाशित मिति : १३ असार २०८०, बुधबार  ८ : ४० बजे