७ आश्विन २०८१, सोमबार | September 23, 2024

मनोरञ्जन क्षेत्र मार्फत हुने मानव बेचबिखन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न



  -आशिष अधिकारी
भरतपुर, असार १४


सामरी उत्थान सेवाको आयोजना र  भरतपुर महानगरपालिकाको समन्वयमा बिहिवार “मनोरञ्जन क्षेत्र मार्फत हुने मानव बेचबिखन सम्बन्धी” अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ |

भरतपुर महानगरपालिका पछिल्लो समय मनोरञ्जन क्षेत्र मार्फत हुने मानव बेचबिखनमा नेपाल कै तेस्रो स्थानमा रहेको देखिएको छ । काठमाडौ र पोखरा पछिको मुख्य मनोरञ्जन ब्यबसायको क्षेत्रमा भरतपुर महानगरपालिका रहेको एक तथ्यांकले देखाएको छ । सामरी उत्थान सेवा नामक सस्थाले भरतपुरमा आयोजना गरेको मनोरञ्जन क्षेत्र मार्फत हुने मानव बेचबिखन सम्बन्धि एक दिने गोष्ठीमा भरतपुर महानगरपालिका मनोरञ्जन क्षेत्र मार्फत हुने मानव बेचबिखनमा काठमाडौ र पोखरा पछिको तेस्रो स्थानमा रहेको पाइएको हो ।

संस्थाले २०७८ सालमा चितवनको राप्ती,माडी र भरतपुर क्षेत्रमा गरि ४ सय २० घरधुरीमा सर्वेक्षण गरेको थियोे । जस अनुसार त्यस क्षेत्र बाट ९ दशमलव ४ प्रतिशत महिला तथा वालिका विभिन्न मनोरञ्जन क्षेत्रमा कार्यरत रहेको पाइएको छ । जस मध्ये ८५ दशमलव ५ प्रतिशत श्रमिकहरुले आफुहरु माथी शोषण हुने गरेको बताएका छन। सर्वेक्षण अनुसार यस क्षेत्रमा १३ दशमलव ६ प्रतिशत श्रमिकहरु १० देखि १४ बर्षका बालबालिकाहरु रहेको देखिएको छ ।

नेपालमा मानव बेचबिखनबाट प्रभावित हुनेहरु मध्ये ६८ दशमलव ४९ प्रतिशत घटनाहरु आन्तरिक मानव बेचबिखन सग सम्बन्धित रहेको सामरी उत्थान सेवाका अध्यक्ष बिमला गायकले बताउनु भयो । जस मध्ये आन्तरिक मानव बेचबिखनको सबैभन्दा ठुलो क्षेत्र वयस्क मनोरञ्जन क्षेत्र भएको छ, यसले नेपालमा हुने मानव बेचबिखनको सबैभन्दा धेरै अर्थात १८ प्रतिशत हिस्सा ओगटेको  अध्यक्ष गायकले भन्नू भयो ।

पछिल्लो समय होटल तथा रेस्टुरेन्ट,खाजाघर, दोहोरी साझ,गजल घर,डान्स बार,हुक्का बार,मसाज सेन्टर,जस्ता स्थल आन्तरिक मानव बेचबिखनका क्षेत्र बन्दै गएका छन । जिल्लामा करिब ६ सय ५० वटा होटल,भरतपुर र रत्ननगरमा गरि करिब ५ सय वटा होटलहरु र झण्डै ७ सय ५० वटा रेस्टुरेन्ट रहेको सस्थाले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । त्यस्तै गरि भरतपुर र रत्ननगरमा ९ वटा दोहोरी साझ,३ वटा मसाज सेन्टर र एउटा क्लब सन्चालनमा रहेका छन ।

नेपालका प्रमुख शहरहरुमा क्याबिन रेस्टुरेन्ट,दोहोरी साझ,डान्सबार,मसाज सेन्टर,पार्लर जस्ता मनोरञ्जन केन्द्रमा यौन शोषणका गतिविधिहरु बढ्दै गएको र बढ्दो वयस्क मनोरञ्जन ब्यबसायले आन्तरिक मानव बेचबिखन तथा ओसारपसारका घटनामा वृद्धि भएको सामरी उत्थान सेवाका कार्यक्रम सयोजक शिबहरी ज्ञवालीले बताउनु भयो । त्यस्तै त्यस्ता ब्यबसायमा कम उमेरका किशोर किशोरीहरुको उल्लेख्य सहभागिता रहेको,श्रम शोषण,यौन दुर्व्यवहार, मौखिक दुर्व्यवहार,बलात्कार प्रयास,शारीरिक सम्पर्कका लागी अनुरोध,अनुचित स्पर्श आदि जस्ता कार्यहरु हुने गरेको ज्ञवालीको भनाइ छ।

गोष्ठीमा बोल्दै भरतपुर महानगरपालिका नगर उप प्रमुख चित्रसेन अधिकारीले मानव बेचबिखनको डरलाग्दो अवस्थालाई समयमै समाधान गर्न नसके यसले भबिस्यमा ठुलो दुर्घटना निम्त्याउन सक्ने बताउनु भयो । उप प्रमुख अधिकारीले मानव बेचबिखनको अवस्था दिन प्रति दिन भयावह बन्दै गएको भन्दै यसको समाधानका निम्ति चितवनका सातै पालिका जिम्मेवार बन्नु पर्नेमा जोड दिनु भयो । उहाँले मनोरञ्जनका क्षेत्र मार्फत हुने मानव बेचबिखन पछिल्ला दिनहरुमा थप पेचिलो बन्दै गएको प्रति चिन्ता समेत व्यक्त गर्नु भयो ।

मानव बेचबिखनका घटना न्यूनीकरणका लागि नेपाल सरकारले दीर्घकालीन रुपमा गरिबी नियन्त्रण गर्ने, रोजगारी सिर्जना गर्ने, सचेतना फैलाउनुका साथै सीमानाकामा कढाइ गर्ने जस्ता कार्यलाई तीव्रता दिनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन ।

कुनै पनि व्यक्तिलाई डर, धम्की, लोभलालच देखाइ शोषण गर्ने उद्देश्यले सो व्यक्तिको इच्छाविपरीत काम गर्न बाध्य तुल्याउने कार्यलाई मानव बेचबिखनको रूपमा लिने गरिन्छ।

हाल मानव बेचबिखन नेपालको मात्र नभएर विश्वव्यापी समस्याको रुपमा चित्रण भएको छ । नेपाल जस्तो बिकासोन्मुख र बेरोजगारी बढी भएको देशमा अझ बढी समस्या देखा परेको हो । मानव बेचबिखन मानवअधिकार र मानव सम्मान एवं प्रतिष्ठाको गम्भीर उल्लङ्घन हो । गरिबी, बेरोजगारी, असमानता, सामाजिक विभेद, लैङ्गिक विभेद, अस्थिरता, हिंसा, न्यून चेतनास्तर, सामाजिक सशक्तीकरणको अभाव, पारिवारिक विघटन आदिलाई मानव बेचबिखनको मुख्य कारकका रुपमा लिन सकिन्छ ।
भरतपुर महानगरपालिका नगर उप प्रमुख चित्रसेन अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न गोष्ठीमा चितवनका सातै पालिकाका उप प्रमुख एवं न्यायीक समितिका सयोजक, सदस्यहरु, सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मा, विभिन्न सरकारी तथा गैरसरकारी सस्थाका प्रतिनिधिहरु लगाएतको सहभागीता रहेको थियोे ।

सामरी उत्थान सेवाले चितवन जिल्लाको माडी नगरपालिका र भरतपुर महानगरपालिकामा मनोरञ्जन क्षेत्रमा हुने शोषण र मानव बेचबिखनको जोखिम न्यूनीकरणका लागि जिविकोपार्जन सुरक्षा परियोजना सन्चालन गरिरहेको छ ।

प्रकाशित मिति : १४ असार २०८०, बिहिबार  ४ : ३४ बजे