१ आश्विन २०८१, मंगलबार | September 17, 2024

नारायणगढ-मुग्लिन सडक २४ घण्टादेखि ठप्प: यात्रुहरुको बिचल्ली



चितवन, असार-१५

नारायणगढ-मुग्लिन सडक पहिरोका कारण ठप्प भएको २४ घण्टा पार भएको छ । सामान्य अवस्था रहे पहिरो सफा गर्न अझै दुई तीन घण्टा लाग्ने डिभिजन सडक कार्यालयका अधिकारीहरूले बताए ।

‘हिजोदेखि खसिरहेको पहिरो सफा गर्न अझै दुई तीन घण्टा लाग्ला । त्यसमाथि पनि खस्ने सम्भावना भएको केही खण्ड देखिन्छ । यदि त्यो खस्यो भने गाडी चल्न गाह्रो होला । नभए दुई चार घण्टाभित्र बाटो खुल्ला,’ भरतपुरको डिभिजन सडक कार्यालयका प्रमुख रमेशप्रसाद पौडेलले भने ।

नारायणगढ-मुग्लिन सडकको मुग्लिन नजिक तुइन खोलाआडमा बिहीबार दिउँसो १ बजेतिर पहिरो खसेर बाटो अवरूद्ध भएको हो । सडकभन्दा ३०/४० मिटर माथिबाट ढुंगाहरू आएर सडकमा लगातार बजारिने गरेका कारणले पहिरो हटाउन समस्या भएको हो । माथिबाट ढुंगा खस्दै गरेको तल सडकबाट देख्न गाह्रो हुने भएका कारण पहिरो हटाउने काम गर्न गाह्रो भएको छ ।

चितवनमा पानी खासै परेको छैन । सुख्खा जस्तो पहिरो खसेको हो । तुइन खोलामा पुल बनाउन पहाड ताछेको ठाउँबाट नभएर आडैमा तर नयाँ ठाउँबाट पहिरो खसेको हो । सो ठाउँमा पहिरो खस्ला भन्ने सोच्दै नसोचेको डिभिजन सडक कार्यालयका प्रमुख रमेशप्रसाद पौडेलले बताए । उनले भने, ‘यो वर्ष नारायणगढदेखि २० किलोमिटरपर मौरीपुल आडमा पहिरो आएर दु:ख देला भन्ने अनुमान गरेर मेसिनहरू त्यहाँ राखेका थियौँ । तर त्यता हैन सोच्दै नसोचेका नयाँ ठाउँमा पहिरो आयो ।’ बिहीबारसम्म दुईवटा मेसिनले काम गरिरहेकामा आजबाट दुइटा मेसिन थपिएको पौडेलले बताए ।

नारायणगढ-मुग्लिन सडकलाई एसियाली मापदण्डअनुरूपको दुई लेनको फराकिलो सडक बनाउन आठ वर्षअघि काम सुरू भएसँगै यो सडकमा पहिरोको समस्या सुरू भएको हो । सडक विस्तारको काम सकिएको साढे चार वर्ष बिते पनि वर्खा लागेसँगै पहिरोले दिने सास्ती सकिएको छैन

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार  २ : २८ बजे