१ आश्विन २०८१, मंगलबार | September 17, 2024

चितवनका तीस आदर्श दम्पती सम्मानित



चितवनका ३० दम्पतीलाई ‘आदर्श दम्पती’का रूपमा सम्मान गरिएको छ । आदर्श नारी विकास केन्द्रले ३२औँ स्थापना दिवसका अवसरमा समाजमा अनुकरणीय काम गर्ने उनीहरूलाई बिहीबार आयोजित एक कार्यक्रममा सम्मानित गरेको हो ।

कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले प्रदेश सरकार आदर्श नारी विकास केन्द्रको हरेक कार्यक्रममा सहयोगी बन्ने बताउनुभयो । केन्द्रले समाज विकासका लागि खेलेको योगदानको सबैले सराहना गर्नुपर्ने उहाँको भनाइ थियो । सरकार अहिले देशको विकास गर्न लागिपरेको उल्लेख गर्दै मन्त्री जोशीले देश परिवर्तन गर्न कुनै बहाना गर्ने छुट नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “जनताको जीवनस्तरमा परिवर्तन ल्याउन हामीले काम गर्ने समय आएको छ ।” सीमित स्रोत साधन र असीमित चाहनाका बीच परिवर्तन देखिने गरी काम गर्नुपर्ने मन्त्री जोशीको भनाइ थियो ।

कार्यक्रममा पाँच आदर्श आमा र पाँच आदर्श सन्ततिलाई समेत सम्मान गरिएको केन्द्रकी अध्यक्ष मीना खरेलले जानकारी दिनुभयो । सो अवसरमा सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मा, जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारी, भरतपुर महानगरपालिका–१० का वडाध्यक्ष परमेश्वर खनाल, वडा नं २ का अध्यक्ष मनोज रानाभाट, साहित्यकार एवं चराविद् ईश्वर कँडेल, पत्रकार शान्ता अधिकारी, सामाजिक अभियान्ता सरस्वती विष्टलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार  १० : ५२ बजे