६ आश्विन २०८१, आइतबार | September 23, 2024

चितवनको हातमा पाल्पा गोल्डकपको उपाधि



जेठ-२८

बिक्की चाम्लिङ राईको २ गोलको सहायतामा सेन्ट्रल कलेज रोड्स चितवनले कर्णेल उजिरसिंह पाल्पा गोल्डकपको उपाधि जितेको छ । शनिबार फाइनलमा चितवनले होराइजन फुटबल क्लब वालिङ स्याङ्जालाई २–० ले पराजित गरेको हो ।

तानसेन टुँडिखेलमा पहिलो हाफको तेस्रो मिनेटमा रोड्स चितवनका बिक्कीले पहिलो गोल गरे । रक्षात्मक खेलेको वालिङका सौगात गुरुङले फाउल गरेपछि प्राप्त पेनाल्टीमा उनैले ४७ मिनेटमा गोल गर्दै टिमलाई २–० को बलियो स्थितिमा पुर्‍याए ।

रोड्स चितवनका अमृत गुरुङ म्यान अफ द म्याच भए । उनले ३ हजार पुरस्कार पाएका छन् । चितवनले ३ लाखसहित पाल्पाली करुवा ट्रफी जित्यो । उपविजेतामा वालिङ स्याङ्जाले १ लाख ५० हजारसहित पाल्पाली करुवा पायो ।

विजेतालाई तानसेन नगरप्रमुख सन्तोषलाल श्रेष्ठ, प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराई, पाल्पा जिल्ला फुटबल संघका अध्यक्ष प्रणयवीर जंग राणा, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई लगायतले पुरस्कार वितरण गरे ।

विधागततर्फ किपरमा चितवनका सरोज तामाङ, उदीयमान खेलाडीमा पाल्पा–११ का आशिष राना, सर्वाधिक गोलकर्तामा बिक्की चाम्लिङ राई, रक्षकमा वालिङका राजेन्द्र श्रेष्ठ पुरस्कृत भए । उत्कृष्ट खेलाडी चितवनकै जितेश गुरुङ भए । फेयर प्ले टिम न्यु युथ युनियन पाल्पालाई प्रदान गरियो ।

तानसेन नगरप्रमुख श्रेष्ठले पाल्पा गोल्डकपले पाल्पाको पुरानो इतिहासलाई पुनः स्मरण गराएको बताए । उनले आगामी वर्ष प्रतियोगिताका लागि नगरपालिकाले पनि थप सहयोग गर्ने बताए । लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्यसचिव भट्टराईले पाल्पा गोल्डकपले आगामी दिनमा स्थानीय र प्रदेश सरकार मात्र होइन संघीय सरकारको समेत सहयोग पाउने गरी प्रतियोगिता आयोजना गरकोे बताए ।

पाल्पा जिल्ला फुटबल संघका अध्यक्ष राणाले आगामी दिनमा बी र ए डिभिजनमा भाग लिने खेलाडीका रूपमा उत्पादन गर्ने पाल्पा गोल्डकपको लक्ष्य रहेको बताए ।

प्रकाशित मिति : २९ जेष्ठ २०८०, सोमबार  ४ : ३२ बजे