१ आश्विन २०८१, मंगलबार | September 18, 2024

चितवनका व्यवसायीलाई घर भाडामा २० प्रतिशत छुट



जेठ-३१

उद्योग वाणिज्य संघ चितवनले आफ्नो व्यवसायिक भवनमा वहालमा रहेका व्यवसायीलाई घरभाडामा छुट दिने भएको छ । उद्योग वाणिज्य संघ–चितवनकोे आज (बुधवार) बसेको नियमित बैठकले संघको नाममा शहिदचोकमा रहेका व्यावसायिक भवनमा वहालमा लिई व्यवसाय गर्ने व्यवसायीहरूलाई २० प्रतिशत भाडा छुट दिने निर्णय गरेको हो ।

आर्थिक जटिलताका कारण व्यवसायी आर्थिक समस्यामा परेकोले उद्योग वाणिज्य संघ चितवनले घरभाडामा लगाउने घरधनीहरुलाई आफ्नो अनुकलता अनुसार घरभाडामा छुट दिन अपिल समेत गरेको छ । देशमा व्यापक चरम आर्थिक मन्दिका कारण व्यवसायिक गतिविधिमा ह्रास आएको र व्यवसायीहरु घरभाडासमेत तिर्न नसक्ने अवस्थामा व्यवसायीहरू पुगेको संघले जनाएको छ ।

कोभिड १९ र त्यसपछि सृजना भएको व्यवसायिक जटिलता, बैंक व्याज वृद्धि जस्ता समस्याहरूको सामना गर्दै आएका उद्योगी व्यवसायीहरू अहिले चरम आर्थिक मन्दीमा परेका कारण व्यवसायीलाई छुट दिने कार्य आफैबाट शुरु गरिएको संघका अध्यक्ष चुननारायण श्रेष्ठले बताउनुभयो । उहाँले बर्तमान अवस्थालाई मध्यनजर गरी अरू घर धनिहरुले कम्तिमा यो अवस्था सहज नहुंदासम्मको लागि घर भाडामा केहि प्रतिशत छुट दिन अनुरोध गर्नुभयो । घर वहाल सम्झौता बमोजिम यस बर्ष घरवहालमा बृद्धि गर्ने समय आएका घरधनिहरुले यो समयमा घरभाडामा बृद्धि नगरी राहत प्रदान गर्नु समेत संघले अपिल गरेको छ । संघको माताहतमा रहेको व्यवसायिक भवनमा व्यवसाय गरिरहेको व्यवसायीलाई सम्झौता बमोजिम यस वर्ष बृद्धि हुने वहाल रकम समेत छुट दिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

केही दिन अघि मात्र घरबहाल उपभोक्त मञ्च चितवनले घरभाडा छुट दिन घरबेटी र छुट गराएर मात्र भाडा तिर्न व्यवसायीलाई आब्हान गरेको थियो । विभिन्न व्यवसायिक संघ सस्थाको समर्थनमा मञ्चले दबाब मुलक कार्यक्रम समेत गरिरहेको छ । मञ्चका अध्यक्ष ख्याम नारायण पराजुलीले आर्थिक मन्दीका कारण व्यवसाय धरासायी बनेको भन्दै घरभाडा छुट नभएसम्म व्यवसाय टिकाउन नसकिने अवस्था आएको बताउनुभयो । उहाँले मञ्चले गरेको आग्रह अनुसार उद्योग वाणिज्य संघबाटै घरभाडा छुटको सुरुवात हुनु सकरात्मक भएको बताउनुभयो ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८०, बुधबार  ६ : ५९ बजे